जुम्ला प्रहरीको घेराबन्दीमा डा. गोविन्द केसी, समर्थककाे चर्काे विराेध

प्रहरीले प्रा. डा. गोविन्द केसीलाई उनी बसेकै होटलमा नियन्त्रणमा राखेको छ । साउनदेखि जुम्लाका दुर्गम बस्तीमा निःशुल्क उपचार गर्दै हिँडेका डा. केसीलाई प्रहरीले बिहीबारदेखि होटलमै घेराबन्दीमा राखेको हो । डा. केसी बसेको जुम्लाको होटल रोयल गार्डेन नै प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार स्वास्थ्य केन्द्र जान निस्किएका डा. केसीलाई प्रहरीले रोकेको थियो ।

आफूसँग गरेका माग पूरा गर्न सरकारलाई पटक–पटक अल्टिमेटम दिइरहेका डा. केसीले साउन ११ गतेबाटै सत्याग्रह बस्ने बताएका थिए । तर देशभर कोरोना महामारीको संकट बढ्दै गएकाले सत्याग्रहको समय पछि सारेका थिए । आफ्नो अनशन रोक्ने नियतले प्रशासनले आफूलाई अस्पताल जान नदिएको डा. केसीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले भने निषेधाज्ञाका समयमा कसैलाई पनि बाहिर निस्किन नदिइएको जनाएको छ ।

यता जुम्लाका स्थानीय भने डा.केसी स्वास्थ्यकर्मी भएकाले अस्पताल जान दिनु पर्ने भन्दै प्रशासनविरुद्ध आक्रोशित भएका छन् । डा. केसीलाई प्रहरीले रोकेको भिडियो सार्वजनिक भएसँगै सामाजिक संजालमा स्थानीय प्रशासनको चर्काे विरोध भइरहेको छ ।

डा. केसीले दुई वर्ष अघि जुम्लामै अनशन बसेका थिए । त्यसबेला उनको अनशन तोड्दै सरकारले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, एमबीबीएस र डिग्रीको पढाइ सुरू गर्ने लगायतका सम्झौता गरेको थियो । तर सरकारले सम्झौता पूर्णपालना नगरेपछि डा. केसी पुनः सत्याग्रह बस्ने तयारीमा छन् । नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै उनी पटक पटक अनसन बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close