
वीरेन्द्रनगर नगरपालिकाले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने लक्ष्यसहित डिजिटल प्रविधिमा महत्वपूर्ण फड्को मारेको छ। नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम (इबिपिएस) औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
आज एक कार्यक्रमको आयोजनाकाबीच नगरप्रमुख मोहनमाया ढकालले उक्त प्रणालीको उद्घाटन गर्नुभएको हो।कर्णाली प्रदेशमै पहिलो पटक सुरु गरिएको यो सेवा देशभरका सीमित नगरपालिकामध्ये एक रहेको जनाइएको छ। सेवा साउन १ गतेदेखि पूर्णरूपमा लागू हुने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले यससँगै एकीकृत नगरपालिका सूचना प्रणाली (आइयामआइएसI) पनि सञ्चालनमा ल्याएको छ। यी दुवै प्रणालीले वीरेन्द्रनगरलाई डिजिटल सुशासनतर्फ अग्रसर गराउने विश्वास लिइएको छ।
इबिपिएस प्रणालीमार्फत सेवाग्राहीले घर तथा अन्य भवन निर्माण अनुमति लिन आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिने भएको छ।
यो प्रणलीमार्फत भवनको नक्सा पेश गर्ने, आवश्यक कागजात अपलोड गर्ने, शुल्क बुझाउने, निवेदनको अवस्था अनलाइनबाटै हेर्ने तथा अन्तिम स्वीकृति प्राप्त गर्ने सुविधा उपलब्ध हुनेछ।
नगर प्रमुख ढकालले डिजिटल प्रविधिको प्रयोगले नगरपालिकाको सेवा प्रणालीमा उल्लेखनीय सुधार ल्याएको बताउनुभयो। उहाँले अब सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था हट्दै गएको उल्लेख गर्दै प्रविधिको प्रयोगले कामलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्नुभयो।
नगर प्रमुख ढकालले वीरेन्द्रनगरलाई प्रविधिमैत्री नगर बनाउने अभियान तीव्र रूपमा अघि बढिरहेको बताउँदै पश्चिम नेपालमै उत्कृष्ट नगरपालिका बनाउने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो।
उहाँले यो प्रणाली लागू भएसँगै सेवाग्राहीले घरमै बसेर आवेदन दिन, प्रक्रिया ट्र्याक गर्न र स्वीकृति लिन सक्ने भएकाले सेवा लिन सहज हुने बताउनुभयो।
कार्यालयमा पटक–पटक धाउनुपर्ने बाध्यता घट्ने, सेवाप्रवाहमा पारदर्शिता बढ्ने तथा समय र लागतको बचत हुने भएको छ।
भवन निर्माण अनुमति प्रक्रियामा हुने ढिलासुस्ती, कागजी झन्झट र अनावश्यक मानवीय हस्तक्षेप पनि कम हुने विश्वास गरिएको छ। नगरपालिकाका प्राविधिक कर्मचारीहरूले प्रणालीमार्फत नक्सा परीक्षण, प्राविधिक मूल्याङ्कन तथा स्वीकृति प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गर्न सक्नेछन्। यसले अभिलेख व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसैबीच आजदेखी इबिपिएस दक्षता अभिवृद्धि तथा अभिमुखिकरण तालिम समेत शुरु भएको छ। दुइदिन सम्म चल्ले तालिमा नगपालिका कर्मचारीसंगै विभिन्न व्यक्तीहरूको पनि सहभागिता रहेको छ।







