क्यान्सरबाट पीडित बालकको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपालीहरूको ३ लाख सहयोग

सुर्खेत — रक्त क्यान्सरबाट पीडित दुई वर्षीय कृश वलीको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपालीहरूले ३ लाख ४ हजार ७ सय ५७ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

सुर्खेत समाज दक्षिण कोरिया र कर्णाली प्रदेश समाज दक्षिण कोरियाको पहलमा संकलित उक्त रकम अभियन्ता कमल पंगेनीले पाटन अस्पतालमा उपचाररत कृशका बुवा मानबहादुर वली र आमा कविता कँडेललाई हस्तान्तरण गर्नुभएको हो।

सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष दुर्गाप्रसाद ढकालले कृशको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो।

 

त्यस्तै, कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष तिलक हमाल ठकुरीले मानवीय सेवाका लागि दक्षिण कोरियामा रहेका नेपालीहरू एकजुट भएको बताउनुभयो।

«“मानवीय सेवामा सबैको साथ र सहयोग आवश्यक हुन्छ, कृशको उपचारमा सहयोग गर्न पाउँदा खुसी छौँ,” — तिलक हमाल ठकुरी, अध्यक्ष, कर्णाली प्रदेश समाज दक्षिण कोरिया।»

कृशको उपचारका लागि सहयोग अभियानको सुरुवात तुलश गुरुङ, मनिराम कँडेल, चन्द्रप्रकाश कँडेल र रमेश शाहीको पहलमा गरिएको थियो। अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन अभियन्ता कमल पंगेनीलगायत दक्षिण कोरियामा रहेका नेपालीहरूले भूमिका निर्वाह गरेका थिए।

सहयोग रकम बुझ्दै कृशका बुवा मानबहादुर वलीले प्राप्त सहयोगले छोराको उपचारमा ठूलो राहत पुग्ने बताउनुभयो। उहाँले विदेशमा रहेर पनि छोराको उपचारका लागि सहयोग जुटाइदिने सम्पूर्ण नेपालीप्रति आभार व्यक्त गर्नुभयो।

अभियन्ता तुलश गुरुङले आगामी दिनमा समेत आवश्यक परे मानवीय सहयोगका लागि आफूहरू तयार रहेको बताउनुभयो।

कृशको उपचार लामो र खर्चिलो रहेकाले परिवारले थप सहयोगको आवश्यकता रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close