२९ दिनमा १ अर्ब ४१ करोड भन्दा बढी बजेट खर्च

कर्णाली प्रदेश सरकारले २९ दिनमा १ अर्ब ४१ करोड ३२ लाख ९६ हजार ९८४ रुपैयाँ खर्च गरेको छ । वैशाख १ देखि २९ गतेसम्मको अवधिमा सो रकम अर्थात् कुल बजेटको ३.२३ प्रतिशत खर्च भएको हो ।

चैत्र मसान्तसम्म ८ अर्ब ५७ करोड ५१ लाख २ हजार ६९४ रुपैयाँ बजेट खर्च गरेको सरकारले वैशाख २९ गतेसम्म आइपुग्दा खर्च ९ अर्ब ९८ करोड ८३ लाख ९९ हजार ६७८ रुपैयाँ अर्थात् २९.८९ प्रतिशत खर्च गरेको छ ।

चालु आर्थिक वर्षको जम्मा दुई महिना मात्र बाँकी रहँदा सरकारको खातामा अझै २३ अर्ब ४२ करोड ३४ लाख ५० हजार ३२१ रुपैयाँ मौज्दात छ । यो बजेट सबै कार्यान्वयनमा जानसक्ने अवस्था मात्रै छैन भने गत वर्षको भन्दा खर्चको अवस्था कमजोर हुने देखिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट ल्याएको थियो । यस्तै १९ अर्ब ५७ करोड ४८ लाख ९५ हजार बराबरको वार्षिक पुँजीगत बजेट रहेको सरकारले वैशाख महिनाको २९ दिनमा ७० करोड ८६ लाख १७ हजार ७९ रुपैयाँ अर्थात् कुल पुँजीगत बजेटको ३.६२ प्रतिशत बजेट कार्यान्वयनमा आएको छ ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको वैशाख २९ गतेसम्मको तथ्याङ्क अनुसार समग्रमा अहिलेसम्म २२.७० प्रतिशत अर्थात् ४ अर्ब ४४ करोड ३७ लाख ३४ हजार बराबरको विकास बजेट कार्यान्वयनमा आएको छ भने अब सरकारसँग झन्डै १५ अर्ब बराबरको विकास बजेट सरकारको खातामा थन्किएको छ ।

पुँजीगततर्फ सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले वैशाख महिनाको २८ दिनमा ३.०७ प्रतिशत बजेट खर्च गरेको छ । भौतिक मन्त्रालयसँग ९ अर्ब ७० करोड ६० लाख ४३ हजार बराबरको बजेट छ ।

यस्तै ३ अर्ब २६ करोड ७१ लाख बढी विकास बजेट रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले अहिलेसम्म २४.७८ प्रतिशत खर्च गरेको छ भने २९ दिनको अवधिमा ४.८१ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत, सूचना अधिकारी ललित थापाले बताए ।

अन्य मन्त्रालयको समग्रमा विकास बजेट खर्च 

मुख्यमन्त्री कार्यालयले वैशाख २९ सम्म समग्रमा ५.९४, अर्थ मन्त्रालयले ३६.४३, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १८.४१ प्रतिशत बजेट कार्यान्वयन गरेका छन् ।

चालु आवमा उद्योग मन्त्रालयसँग १ अर्ब १९ करोड बढी पुँजीगत बजेट थियो । ६० करोड बढी वार्षिक विकास बजेट रहेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४५.३१ प्रतिशत बजेट कार्यान्वयन गरेको छ भने कानुन मन्त्रालयले १८.८१ प्रतिशत बजेट खर्च गरेको छ । यो मन्त्रालयसँग वार्षिक ८ करोड ६६ लाख २९ हजार पुँजीगत बजेट छ ।

२ अर्ब ९० करोड ३९ लाख बढी पुँजीगत बजेट रहेको सामाजिक विकास मन्त्रालयले ३४.४५ प्रतिशत बजेट कार्यान्वयनमा गरेको छ ।

प्रदेशका कुनै पनि मन्त्रालयहरूले विकास बजेट ५० प्रतिशत कटाउन सकेका छैनन् । चालुतर्फको बजेट भने ४०.०७ प्रतिशत बजेट खर्च भइसकेको छ । यो वर्ष चालुतर्फ १३ अर्ब ८३ करोड बढी बजेट थियो ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनको विषयलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलनमा उनले कसरी हुन्छ बजेट कार्यान्वयनको अवस्थालाई सुधार गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सुधार ल्याइने उनको भनाई थियो ।

आम्दानी जम्मा ५८ करोड

आम्दानीको कुनै स्रोत नभएको कर्णाली सरकारले १० महिनाको अवधिमा जम्मा ५८ करोड आन्तरिक आम्दानी गरेको छ ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार ५८ करोड ५९ लाख ४१ हजार ९ सय रुपैयाँ राजश्व सङ्कलन भएको हो । चालु आर्थिक वर्षमा ८३ करोड बढी आन्तरिक आम्दानी गर्ने सरकारको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close