प्राकृतिक विपदको पूर्व तयारीबारे अस्पतालको अनुगमन गर्दै मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज, भोलि र पर्सिसम्म हुने लगातारको भारी वर्षा र त्यसबाट हुन सक्ने सम्भावित क्षतिको पूर्व तयारीका सन्दर्भमा प्रदेश अस्पताल सुर्खेतको इमर्जेन्सी वार्डको अनुगमन गर्नुभएको छ ।

सामाजिक विकास मन्त्री जितबहादुर मल्ल सहित स्थलगत रुपमा प्रदेश अस्पताल कालागाउँ पुग्नुभएका मुख्यमन्त्री शाहीले यदि कुनै प्राकृतिक प्रकोपबाट नागरिक घाइते हुने वा अन्य कुनै घटना भएमा कसरी उपचार गर्न सकिन्छ भन्ने बारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) गणेश थापासँग जिज्ञासा राख्नुभएको थियो ।

सो क्रममा अस्पतालको इमर्जेन्सी वार्डको अनुगमनका साथै प्राकृतिक विपदका बेला उपचारमा अपनाइने चरण र तयारीका बारेमा मुख्यमन्त्री शाहीले विशेष चासो राख्नुभएको थियो ।

सो क्रममा अस्पतालका मेसु थापाले आफूहरुले जाजरकोट भूकम्पदेखि अन्य दुर्घटनाहरुमा काम गरेको अनुभव सुनाउँदै हुनसक्ने सम्भावित घटना र पूर्व तयारीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अस्पतालको सम्पूर्ण टिम २४ सै घण्टा तयारी अवस्थामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफूहरुसँग इमर्जेन्सीमा प्रयोग गरिने डाक्टर तथा अन्य कर्मचारी, औषधी, अन्य मेडिकल सामग्री र बिरामी राख्ने स्थानहरु समेत पर्याप्त रहेको र आफूहरु पूर्व तयारीमा बसेको मेसु थापाले बताउनुभयो ।

मुख्यमन्त्री शाहीले पनि पूर्व तयारी स्वरुप आवश्यक कदमहरु चाल्न र सम्पूर्ण प्रकारको तयारी गर्न निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close