सुर्खेत भेरीगगामा विपद् तथा जलवायु उत्थानशील योजना पुनरावलोकन तथा पूर्वतयारी बैठक सम्पन

सुर्खेत, भेरीगंगा नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना पुनरावलोकन, अनुमोदन, तथ्याङ्क अद्यावधिक तथा विपद् पूर्वतयारीसम्बन्धी बैठक सम्पन्न भएको छ।

नगरप्रमुख एवं नगर विपद् व्यवस्थापन समितिका संयोजक यज्ञप्रसाद ढकाल को अध्यक्षतामा सम्पन्न बैठकमा नगरभित्रका विभिन्न वडामा हुन सक्ने सम्भावित विपद् जोखिमको पहिचान, जोखिम रेखाङ्कन तथा आवश्यक पूर्वतयारीका विषयमा विस्तृत छलफल गरिएको थियो।

बैठकमा सहभागी वडाध्यक्षहरूले विपद् आइपरेको अवस्थामा उद्धार तथा राहत व्यवस्थापन, प्रभावित हुन सक्ने घरपरिवारको सम्भावित सङ्ख्या, होल्डिङ सेन्टरको व्यवस्थापन तथा वडा तहमा गर्नुपर्ने पूर्वतयारीका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले विपद्को प्रभाव न्यूनीकरणका लागि वडा तहका स्वयंसेवक, वडा विपद् व्यवस्थापन समिति तथा सम्बन्धित सबै निकायले आवश्यक पूर्वतयारीलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र भिएसओ नेपाल को सहकार्यमा सञ्चालित एक्टिभ परियोजना अन्तर्गत भेरीगंगा नगरपालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको पुनरावलोकन, अनुमोदन तथा तथ्याङ्क अद्यावधिक कार्य सम्पन्न गरेको हो।

कार्यक्रममा राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर केसी ले विपद् पूर्वतयारी तथा जलवायुजन्य जोखिम व्यवस्थापनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए। उनले कृषि तथा कृषकलाई प्रभावित पार्ने जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार, समुदाय र सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close