संक्रमितलाई नगरपालिकाको कोशेली

सुर्खेतको भेरीगंगा नगरपालिकाले कोरोना संक्रमितको घरमै पुगेर पौष्टिक आहार र स्वास्थ्य सामग्रीहरु वितरण गर्ने अभियानको सुरुवात गरेको छ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई नगरपालिकाले अण्डा, सेनिनिटाइजर, मास्कलगायतको कोशेली उपलब्ध गराउन थालेको हो ।

‘नगर क्षेत्रभित्रका संक्रमितको स्वास्थ्य अवस्थाका जानकारी लिनुका साथै उनीहरुलाई पौष्टिक आहारका रुपमा अण्डा र सुरक्षा सामग्रीहरु उपलब्ध गराउन सुरु गरेका छौं,’ कार्यवहाक नगर प्रमुख रेणु आचार्यले भनिन्, ‘नगरपालिका आफ्ना नागरिकहरुको स्वास्थ्यप्रति गम्भीर छ ।’

यसअघि नै कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकाका परिवारलाई नगद पाँच हजार रुपैयाँ दिने निर्णय गरिसकेको भेरीगंगा नगरपालिकाले ‘संक्रमितका लागि कोशेली’ कार्यक्रम सुरु गरेको हो । होम आइसोलेसनमा रहेका संक्रमितलाई कोशेली पु¥याउन उपप्रमुख आचार्य आफै घरघरमा पुग्ने गरेकी छन् ।

नगरपालिकाले तत्कालका लागि बढी संक्रमित भएका वडा नं. ६, ७, ८ र ९ मा कोशेली कार्यक्रम लागू गरेको छ । कोरोनासँग जुध्नका लागि नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ । नगर कोभिड अस्पतालमार्फत संक्रमितको उपचार नगरपालिकाले गरिरहेको छ ।

‘कोरोना संक्रमणबाट नगरवासीहरुलाई बचाउनका लागि जनचेतनामूलक कार्यक्रम पनि सँगसँगै सुरु गरेका छौं,’ उपप्रमुख आचार्यले भनिन्, ‘गम्भीर संक्रमितहरुलाई अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स, नगद सहयोगसँगै होम आइसोलेसनमा रहेकाहरुलाई पोषण र स्वास्थ्य सामग्रीहरु वितरण गरिरहेका छौं ।’

कोशेलीसँगै स्वास्थ्यकर्मीहरुले संक्रमितहरुको अक्सिजनको मात्रा चेकजाँच गर्नुका साथै आवश्यक औषधि पनि वितरण गर्ने गरेका छन् । ‘अहिलेसम्म नगर क्षेत्रका तीन सयको हाराहारीमा संक्रमितहरु हुनुहुन्छ,’ उनले भनिन्, ‘स्वास्थ्यकर्मीसहित सबैको घरघरमा पुगेर स्वास्थ्य अवस्था जाँचका साथै औषधिहरु पनि वितरण गरिरहेका छौं ।’ कोरोना संक्रमणबाट भेरीगंगा नगरपालिकामा ११ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भएकाले पनि भेरीगंगामा कोरोना संक्रमण दर बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close