स्ववियु चुनावमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै अदालतमा रिट दायर

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालय लगायत पाँच वटा कार्यालयविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । विश्वविद्यालय अन्तर्गतकै ‘स्कुल अफ म्यानेजमेन्ट’ मा अध्ययनरत ३ जना विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।
मंगलबार उनीहरूले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट , स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालय लगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका छन् ।
रिट दायर गर्नेमा मोसुममा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदिप महतारा र खेमु शाही रहेका छन् । मोसुममा करिब ४०० विद्यार्थीहरू अध्ययनरत छन् । मोसुममा अध्ययनरत विद्यार्थीको मतदान गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजिएको उनीहरूको आरोप छ । उनीहरूले अन्तरिम आदेश सहितको उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भनेर रिट निवेदन दायर गरेका हुन् ।
उच्च अदालत सुर्खेतका सूचना अधिकारी सरोजनिधि वाग्लेले रिट दायर भएको बताउनुभयो । ‘उहाँले भने,‘ अब भोलि एकल इजलासमा पेस हुन्छ ।’ मध्यपश्चिम विश्वविद्यालयमा चैत्र ३ गते स्ववियु निर्वाचन हुँदै छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close