कर्णाली अस्पतालमा अब मिर्गौला प्रत्यारोपण सेवा

 

सुर्खेत — कर्णाली प्रदेशअन्तर्गत प्रदेश अस्पताल वीरेन्द्रनगरमा यसै आर्थिक वर्षदेखि मिर्गौला प्रत्यारोपण सुरु हुने भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेशअन्तर्गत प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतबीच मिर्गौला फेल भएका बिरामीहरुको लागि प्रत्यारोपण सेवा सुरु गर्न तथा डायलासिस सेवा विस्तारमा सहकार्य गर्ने समझदारी भएको छ ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काबीच बिहीबार सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुवै पक्षबीच यसै आर्थिक वर्षदेखि प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने, कर्णाली प्रदेशअन्तर्गत विभिन्न अस्पतालहरुमा डायलासिस सेवा विस्तार गर्ने र यसका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रअन्तर्गत जनशक्तिको तालिम, अध्यापन आदि व्यवस्थापन गर्ने समझदारी भर्एको छ ।
२ सय ५० शय्या क्षमताको उक्त अस्पतालमा आईसीयू, कार्डियाक आईसीयुलगायतका उच्चस्तरीय सुविधा उपलब्ध छ । राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सेवाको थप विस्तारसँगै सातवटै प्रदेशमा प्रत्यारोपण र डायलासिस सेवा विस्तार गर्ने नीतिअन्तर्गत कर्णालीको प्रदेश अस्पतालसँग सहकार्य थालिएको केन्द्रका निर्देशक डा.श्रेष्ठले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close