राष्ट्रियसभा सदस्य निर्वाचनः उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

काठमाडौं– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ।

राष्ट्रियसभामा रिक्त हुन लागेका १९ मध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन गर्ने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर पेश गर्नुपर्ने छ । त्यस्तै उम्मेदवारले १० हजार धरौटी बुझाउनु पर्ने निर्वाचन आयोगले जनाएको छ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा भने सो धरौटी रकममा ५० प्रतिशत छुट हुने बताइएको छ।

राष्ट्रियसभामा नेकपाका ८, काँग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुई वर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close