
सुर्खेत ४, असोज ।
गएको चैत ११ मा देश व्यापी लकडाउनपछि रोकिएको आन्तरिक हवाई उडान र लामो दुरीको सार्वजनिक यातायात भोली असोज ५ बाट सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले आवश्यक मापदण्ड बनाएर आन्तरिक उडान गर्ने भनेपछि कर्णाली प्रदेशलाई संघीय राजधानीसँग जोड्ने सुर्खेत विमानस्थलमा व्यक्तिगत सुरक्षा सम्बन्धि आवश्यक तयारी पुरा गरेको छ ।
आन्तरिक उडान सञ्चालन गर्न सुर्खेत विमानस्थलमा आवश्यक सुरक्षा मापदण्ड अनुसार न्यूनतम एक मिटरको दूरी कायम गर्दै आवागमन र प्रस्थान कक्षमा चिह्न लगाउने काम सम्पन्न गरिएको छ । सामाजिक दूरी कायम गरेर यात्रु प्रवेश गर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, रुघाखोकी लागेका यात्रुहरु जान नपाउने, स्यानिटाइजर प्रयोग गर्नुपर्नेसहितको सुरक्षा मापदण्ड तोकि सोमबारदेखि आन्तरि उडानको तयारी थालिएको सुर्खेत नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिन विमानस्थलमा आवागमन र प्रस्थान कक्षमा चिह्न लगाइएको छ भने स्वचालित सेनिटाइजरको समेत व्यवस्था गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन सामाजिक दुरी कायम गरेर मात्रै यात्रुलाई प्रवेश गराउने व्यवस्था गरिएको छ ।
यसै बीच बुद्ध एयरले १ सय ७५ दिन पछि सुर्खेत–काठमाडौं उडानको तयारी थालेको छ । बुद्ध एयरका सुर्खेतका स्टेशन म्यानेजर नरबहादुर बस्नेतका अनुसार सोमबार हुने सुर्खेत–काठमाडौं उडानका लागि ५० प्रतिशत टिकट बुक भइ सकेको छ भने काठमान्डौ–सुर्खेतको उडानका लागि समेत ५० प्रतिशत सिटका लागि टिकट बुक भइसकेको छ ।
यता सुर्खेत विमानस्थलबाट कर्णालीका हुम्ला, डोल्पा र मुगुमा तारा, समिट, सीता एयरले उडान गरिरहेका छन ।