सुर्खेत कारागारका ११ जना कैदीबन्दीको सजाय माफी

सुर्खेत कारागारका ११ जना कैदीबन्दीले सजाय माफी पाएका छन् । संविधान दिवसको अवसरमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ११ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका हुन् ।

५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियम अनुसार आइतबार संविधान दिवसको अवसरमा कारागारमा रहेका ११ जनालाई कैद मिनाहा गरिएको जेलर लक्ष्मी खरेलले जानकारी दिईन् ।

उनका अनुसार कैद मिनाहा हुनेमा कमल भन्ने धिरज पराजुली, काईला भन्ने टोपबहादुर रोकाय, ईन्द्रबहादुर रामजाली, जीवन शाही र धनबहादुर विक कर्तव्य ज्यान मुद्धा, डिलबहादुर बुढा मगर खुन डाँका मुद्धा, सूर्यबहादुर गुरुङ सवारीबाट अङ्गभङ्ग मुद्धा, गोपाल सार्की ज्यान मार्ने उद्योग मुद्धा, प्रेमबहादुर कामी बहुविबाह मुद्धा, राजकुमार बोहरा सवारी ज्यान मुद्धा र लक्ष्मण विक सवारी ज्यान मुद्दा लागेका रहेका छन् ।

कैदी बन्दीको बानी व्यवहार, अनुसार चालचलन, रहनसहन सबै राम्रो भएपछि कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था अनुसार कैद मिनाहा गरिएको जेलर खरेलले बताईन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

सुर्खेत कारागारमा अहिले २ जना आश्रित बालबालिकासहित ३८ जना महिला र ३ सय २ जना पुरुषसहित कुल ३ सय ४० जना कैदीबन्दीहरु विभिन्न मुद्दामा जेल सजाय काटी रहेका छन् ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close