चाकु, तरुल, खिचडी खाएर मनाईने चाड हो, ‘माघेसंक्रान्ति’

काठमाडौं– आज मकर सक्रान्ति यानिकी माघेसंक्रान्ति। आजको दिनमा चाकु र तरुलका परिकार खाएर मनाईन्छ। माघे संक्रान्तिमा यस्ता परिकार तथा कन्दमूल खानुको धार्मिक सँगै वैज्ञानिक कारण समेत रहेको छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो। यस्ता परिकार खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास पनि रहेको छ। आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास पनि रहेको छ।

शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेलले मसाज गरेमा मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता रहेको छ। बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। त्यस्तै आजको दिन देवघाट, झापाको कन्काई माई, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्दछ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close