उद्योग वाणिज्य संघले व्यापारीलाई दियो तनाव व्यवस्थापन अभिमुखिकरण

रमेश कुमार पाण्डे

सुर्खेत स्थित उद्योगी, व्यापारीहरुलाई मानसिक तनाव व्यवस्थापन गर्न अभिमुखिकरण गरिएको छ । कोरोना महामारी र त्यसयता उत्पन्न भएको आर्थिक संकटका कारण उनीहरुमा परेको मानसिक तनाव हटाउने उद्देश्यले अभिमुखिकरण गरिएको हो । कोशिस नेपालको सहयोग र सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा गरिएको अभिमुखीकरणमा ७० जना व्यपारी सहभागी भएका थिए । उनकाअनुसार अब सबै व्यापारीलाई याे अभिमुखिकरण गरिने छ ।
पछिल्लो केही वर्ष यता कोरोना र आर्थिक मन्दीका उद्योगीहरुमा तनाव सिर्जना भएपछि तनाव व्यवस्थापन सम्बन्धी सीप सिकाएकाे सुर्खेत उद्योग वाणिज्यय संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।
‘कोरोना र पछिल्लो समयमा आर्थिक तरलताको अभाव र बजार चलायमान नहुँदा व्यापार भएन । उद्योगी र व्यवसायीहरुलाई बैंक, घरबेटी, र साहुले उनीहरुलाई तनाव दिन थाले,’अध्यक्ष कँडेलले भने, ‘त्यसैको कारण उद्योगी र व्यापारी व्यापारबाट प्लायन मात्रै होइन, आत्महत्या गर्नेसम्मको स्थिति आयो । त्यसैलाई मध्यनजर गर्दै यो कार्यक्रमको आयोजना गरेका हौं ।’
अध्यक्ष कँडेलले केही महिना पहिले काठमाण्डौं संसद भवन अगाडी एक व्यवसायीले आत्मदहा गरेको घटना बताउँदै सुर्खेतमा पनि केही व्यापारीले आत्महत्याको प्रयास गरेको कुरा सुनिएपछि उनीहरुलाई काउन्सिलिङ्ग गर्नुपर्ने अवस्था आएको बताए ।
बजारमा आर्थिक मन्दी हुँदा यो चुनौतीलाई अवसरमा बदल्न उनीहरुलाई अन्तरक्रियाको आवश्यक रहेको उनको भनाई छ ।
‘बैंकको चर्को ब्याजदर, सस्तो लिलाम, कालो सुची, घरभाडा जस्ता कुराहरुले व्यापारीहरु अहिले तनावमा छन्,’अध्यक्ष कँडेलले भने, ‘सधैं व्यवसायी फाइदामा जाने कुरा भएन । अहिले घाटामा व्यापारी हुँदा सरकारले त्यसको व्यवस्थापन गर्न सकेन । नीजि क्षेत्रले दिएका सुझावहरु समेत सरकारले लागु गरेन । त्यसैले सानो काउन्सिकलले उनीहरुलाई सहज बनाउन जरुरी छ ।’
अध्यक्ष कँडेलका अनुसार सुर्खेतमा ८० प्रतिशतसम्म व्यापार हराएको छ । बजारमा सामान नबिक्ने र उधारोको पैसा समेत नउठ्दा करिब ३० हजार व्यवसायीहरु समस्यामा परेका छन् । तीन मध्ये ९० प्रतिशत व्यापारीले बैंक तथा वित्तिय क्षेत्रबाट ऋण लिएर व्यापार गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघमा मात्र ६ हजार व्यापारी आवद्ध छन् ।

बन्द हुन थाले पसल
पछिल्लो समय आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर व्यवसाय नै बन्द गर्नु पर्ने अवस्थामा कर्णालीका उद्योगी, व्यवसायी पुगेका हुन् । पछिल्लो समय देशमा जारी आर्थिक संकटको प्रभाव वीरेन्द्रनगरमा पनि पर्न थालेको छ । कोरोना भाईरस संक्रमण अवस्था पछि थला परेको अर्थतन्त्रको प्रत्यक्ष प्रभाव अहिले वीरेन्द्रनगरमा पनि देखा परेको छ ।
यहाँ धमाधम व्यवसायिक सटरहरु खाली हुन थालेका छन् । कुनै समय थाम्नै नसक्ने गरी व्यापार हुने वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रका सटरहरु आर्थिक मन्दीका कारण धमाधम बन्द हुन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याजका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अध्यक्ष कँडेलको गुनासो छ ।
एकातिर आर्थिक मन्दी अर्का तिर बैंक तथा वित्तीय संस्थाहरुले बढाएको चर्को व्याजका कारण वीरेन्द्रनगरमा ख्याति कमाएका व्यापारीसमेत धरासायी बन्दै छन् । सात प्रतिशतका दरले लिएको ऋण अहिले १५ प्रतिशतसम्म तिर्नुपर्ने बाध्यता व्यवसायीलाई छ ।
व्यापारीहरुसँग बैंकको किस्ता तिर्ने पैसा नै नभएपछि कसैले सामान नै घरमा लिएका छन् । यसका साथै बैंकले व्यवसायमा ताला लगाउन थालेपछि व्यवसाय नै बन्द गर्नुको विकल्प नरहेको व्यापारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close