
कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका ६ जना भारतबाट लुकेर आएको खुलेको छ ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका चार जना र लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुई जना गरी ६ जना सोमबार संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।
संक्रमण पुष्टि भएका ६ जना सम्बन्धित तहको क्वारेन्टाइनमै छन् । उनले सीमाबाट आवतजावतमा बन्देज लगाइएपछि उनीहरु भारतबाट सुरक्षाकर्मीको आखाँ छलेर भित्रिएको बताए ।
‘अहिले हामीले भारत र तेस्रो मुलुकबाट आएकाहरु नै बढी परिक्षण गरिरहेका छौँ’ डा. गिरीले भने, ‘अहिले पुष्टि भएका संक्रमितहरु पनि केही दिन अगाडी सुरक्षाकर्मीलाई छलेर भारतबाट भित्रिएका थिए ।’
उनले थपे– ‘अहिले यति कुराहरु आएको थप बुझद्छौँ ।’
सरकारले नेपाली नागरिकहरुलाई बैधानिक रुपमा नाकाबाट नभित्रयाउँदा दैनिक अवैधानिक रुपमा लुकेर भित्रिने क्रम जारी छ । जसकारण मुलुकमा संक्रमण फैलिने र अवस्था भयावह हुन सक्ने सम्भावना छ ।
यस अघि संक्रमण पुष्टि भएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाको युवा पनि लुकेर भित्रिएका थिए ।