भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८० करोड २५ लाखको बजेट

नगरप्रमुख यज्ञ प्रसाद ढकालद्वारा नीति तथा कार्यक्रम र उपप्रमुख धनसरा बोहोराद्वारा बजेट प्रस्तुत

सुर्खेतको भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८० करोड २५ लाख २४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७ औँ नगरसभाको पहिलो बैठक मंगलबार सम्पन्न हुँदै नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र मुख्य बजेट कार्यक्रमहरू पारित गरिएको हो।

नगरसभामा सम्माननीय नगरप्रमुख यज्ञ प्रसाद ढकालले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, वातावरण संरक्षण, सामाजिक समावेशिता, महिला सशक्तीकरण, सीपमूलक कार्यक्रम, र उत्पादनमुखी योजनाहरूलाई प्राथमिकतामा राखिएको स्पष्ट गर्नुभयो।

“स्थानीय सरकारको प्रभावकारिता नागरिकको जीवनस्तरसँग जोडिएको हुन्छ। हामी योजनाबद्ध, समावेशी र पारदर्शी ढंगले अगाडि बढ्छौं,” नगरप्रमुख ढकालले भन्नुभयो। उहाँले यस वर्षबाट नगरको आधिकारिक लोगो र नगर गानसमेत सार्वजनिक गरिएको घोषणा गर्नुभयो।

यस्तै नगर उपप्रमुख धनसरा बोहोराले ८० करोड २५ लाख २४ हजार रुपैयाँको अनुमानित बजेट नगरसभामा प्रस्तुत गर्नुभयो। उहाँले बजेटमार्फत आधारभूत सेवा प्रवाह सुधार, शिक्षा र स्वास्थ्यको पहुँच विस्तार, कृषि उत्पादन वृद्धिका लागि प्रविधि अनुदान, विपन्न वर्ग लक्षित कार्यक्रम, तथा सूचना प्रविधिमार्फत डिजिटल नगर निर्माणतर्फ प्राथमिकता दिइएको जानकारी दिनुभयो।

नगरसभामा उपस्थित वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरू तथा विभिन्न दलका सदस्यहरूले नीति, कार्यक्रम र बजेटप्रति सराहना व्यक्त गर्दै आगामी बैठकमा थप सुझाव प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close