प्रि-क्वाटर फाइनलमा अस्ट्रेलियालाई अर्जेन्टिनाको चुनौती

कतारमा जारी फिफा विश्वकपमा समूह चरणका खेल समाप्त भएपश्चात् आजबाट अन्तिम १६ का खेल सुरु हुँदैछन्। आज हुने दोस्रो प्रि-क्वाटर फाइनलको खेलमा उपाधि दाबेदार टिम अर्जेन्टिनाले अस्ट्रेलियाविरुद्ध खेल्दैछ। यी दुईबीचको खेल राति १२:४५ बजे अहेमद बीन रंगशालामा सुरु हुनेछ।

अर्जेन्टिना समूह ‘सी’को समूह विजेता हो भने अस्ट्रेलिया समूह ‘डी’को उपविजेता टिम हो।

अस्ट्रेलियाले समूह चरणको पहिलो खेलमा साबिक विजेता फ्रान्ससँग ४-१ गोलअन्तरले पराजित हुँदै खराब सुरुवात गरेको थियो। त्यसपछि उसले राम्रो लय समाउन सफल भयो। दोस्रो खेलमा ट्युनिसिया र अन्तिम खेलमा डेनमार्कलाई समान १-० गोलअन्तरले पराजित गर्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाएको हो।

त्यस्तै अर्जेन्टिनाको पनि अस्ट्रेलियाको जस्तै नतिजा आयो। उच्च लयका साथ ३६ खेलसम्म अपराजित रहँदै विश्वकपमा तुलनात्मक रूपमा कमजोर टिम साउदी अरेबियासँग पहिलो खेलमै २-१ गोलअन्तरले पराजित हुन पुग्यो। त्यसपछि खेलेको दोस्रो खेलमा मेक्सिको र अन्तिम खेलमा पोल्यान्डलाई समान २-० गोलअन्तरले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम १६ मा अस्ट्रेलियासँगको भेट सुनिश्चित गर्‍यो।

अर्जेन्टिना सन् १९७८ र १९८६ गरी दुई पटक विश्व च्याम्पियन भइसकेको छ। युवा तथा अनुभवी खेलाडीका साथमा अर्जेन्टिना यसपटक विश्व च्याम्पियन बन्न चाहन्छ। यसअघि अन्तिम पटक अर्जेन्टिना सन् २०१४ को ब्राजिल विश्वकपमा फाइनल खेलेको थियो। त्यसबेला अर्जेन्टिना जर्मनीसँग १–० गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

यसपटक लियोनल मेस्सीको कप्तानी तथा लियोनल स्केलोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना वर्तमान कोपा अमेरिका च्याम्पियन हो। अर्जेन्टिनाले अस्ट्रेलियालाई पराजित गरेर क्वाटरफाइनलमा पुगेको अवस्थामा उसले सेमिफाइनलका लागि नेदरल्यान्ड र अमेरिकाबीचको खेलका विजेतासँग खेल्नेछ।

अन्तिम १६ मा अस्ट्रेलियाको सामना गर्न आफ्नो टिम तयार रहेको अर्जेन्टिनाका टिम कप्तान लियोनेल मेस्सी बताउँछन्। साथै उनी विश्वकपमा कुनै पनि टिममा विश्वस्त भएर बस्ने अवस्था रहेको र यहाँ जुनै समयमा जे पनि हुन सक्ने उनी बताउँछन्। मिडियासँग कुरा गर्दै उनी भन्छन्, ʻहामी अब अस्ट्रेलियासँग खेल्नका लागी तयारछौं। प्रतियोगितामा हामीले गरेको खराब प्रदर्शनलाई सच्याएर अहिले हामी पूर्णरूपमा लयमा छौं। अन्य समय झैँ ट्रेनिङ गरिरहेका छौं। तर खेलको नतिजालाई लिएर हामी निर्धक्क भएर बस्ने अवस्था छैन। किनकि यो विश्वकप हो र यहाँ जे पनि हुन सक्छ। त्यसैले हामी पूर्णरूपमा सजक भएर खेल्नु आवश्यक हुनेछ।ʼ

आफ्नो टिमले सुरुवातमा गुमाएको लयमा पुनरागमन गरिसकेको कारण आफू खुसी रहेको मेस्सीले बताए। उनी भन्छन्, ʻहामी विश्वकपमा आउनु अघि ३६ खेलमा अपराजित थियौं। उच्च लयमा पनि थियौं। तर प्रतियोगिताको पहिलो खेलको नतिजाले हामी सबैलाई अचम्मित बनायो। त्यो समय मलाई धेरै दु:ख लागेको थियो। हाम्रो टिमले अर्को खेलदेखि नै सुधारेर प्रदर्शन गर्‍यो। जसले गर्दा हामी अन्तिम १६ सम्म आइपुग्यौं।ʼ

तुलनात्मक रूपमा अस्ट्रेलिया अर्जेन्टिनाभन्दा कमजोर टिम मानिन्छ। अस्ट्रेलिया फिफा र्‍याङकिङको ३८औं स्थानमा रहेको छ। उता अर्जेन्टिना ब्राजिल र बेल्जियम पछि तेस्रो स्थानमा रहेको छ। फिफा र्‍याङ्‍किङ तथा टिम प्रदर्शन केही कमजोर भए पनि अस्ट्रेलिया अर्जेन्टिनालाई पराजित गरेर पहिलो पटक क्वाटरफाइनल पुग्न चाहन्छ। सन् २००६ को विश्वकपको अन्तिम १६ मा स्थान बनाएको अस्ट्रेलिया त्यसपछिका सबै संस्करणमा छनोट त भयो तर समूह चरण पार गर्न सकेको थिएन। तीन संस्करणपछि अन्तिम १६ मा पुगेको अस्ट्रेलियालाई यो इतिहास कोर्ने एउटा सुनौलो मौका पनि रहेको हो।

पछिल्लो समय राम्रो लयमा खेलिरहेको अस्ट्रेलियन टिमका कप्तान माथेउ रायेन अर्जेन्टिना बलियो टिम रहेको स्विकार्छन्। अन्तिम १६ मा स्थान सुरक्षित गरेपछि मिडियासँग कुरा गर्दै उनले भने, ʻहामी लामो समयपछि नकआउट चरणमा पुगेकोमा धेरै खुसी छौं। अब हामीले अर्जेन्टिनाको सामना गर्दैछौं। अर्जेन्टिना राम्रो टिम हो। उसले राम्रो लयमा खेलिरहेको छ। त्यसैले अर्जेन्टिनाविरुद्ध मैदान उत्रिँदा हामीलाई नतिजा आफ्नो पक्षमा त्यति सहज हुनेछैन। तर हामी इतिहासमा अहिलेसम्म क्वाटरफाइनल पुग्नसकेको छैनौं र हामी त्यो इतिहास कोर्ने लक्ष्यमा हुनेछौं।ʼ

लियोनेल मेस्सीको एक हजारऔं खेलः अर्जेन्टिना र अस्ट्रेलियाको खेल हुँदैगर्दा अर्जेन्टिनाका टिम कप्तान लियोनेल मेस्सीको लागि अर्को विशेष क्षण पनि हुनेछ। किनकि मेस्सीको खेल जीवनको एक हजार खेल पुरा हुँदैछ। उनी आफ्नो ऐतिहासिक क्षणमा टिमलाई जिताउँदै क्वाटर फाइनलको यात्रा सुनिश्चित गर्न चाहन्छन्। सन् २००५ बाट अर्जेन्टिनाको टिमम डेब्यु गरेका मेस्सीले कतार विश्वकप आफ्नो अन्तिम विश्वकप रहेको यसअघिनै बताइसकेका छन्।

मेस्सीले व्यावसायिक फुटबलमा स्पेनिस क्लब बार्सिलोनाका लागी ७ सय ७८ खेल खेलेका छन्। त्यस्तै उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन्ट पिएसजीका लागी ५३ खेल खेलेका छन्। उनले अर्जेन्टिनाको जर्सिमा १ सय ६८ खेल खेलिसकेका छन्। यी खेलका दौरान उनले ९३ गोल गरिसकेका छन्। उनी अर्जेन्टिना र बार्सिलोनाको अल टाइम टपस्कोररसमेत हुन्। मेस्सीले ९ सय ९९ खेल खेल्दा ७ सय ८८ गोल र ३ सय ४८ अशिष्ट गरेका छन्। साथै उनी सर्वाधिक सातपटकका वालोन डी ओर र छ पटकका युरोपियन गोल्डेन बुट विजेता पनि हुन्।

हेड टु हेडः यी दुईबीचको यो सातौं भेट हो। यसअघि भएको छ खेलमध्ये अर्जेन्टिनाले पाँच खेल जितेको छ भने अस्ट्रेलियाले एकपटक मात्र जितेको छ। बाँकी एक खेल भने दुवै टोलीले बराबरी खेलेका थिए। यी दुई टोली धेरै लामो समयपछि एकआपसमा आमुन्नेसामुन्ने हुन लागेका हुन्। यसअघि अन्तिमपटक यी दुवै टोली सन् २००७ मा खेलेका थिए। उक्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना १-० गोलअन्तरले विजयी भएको थियो। त्यस्तै विश्वकपमा अर्जेन्टिना र अस्ट्रेलियाको यो पहिलो भेटसमेत हो।

अर्जेन्टिनाको सम्भावित ११

एमिलियानो मार्टिनेज, नाहुल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, पपु गोमेज, एन्जल डी मारिया, जुलियान अलभारेज, लिओनल मेस्सी।

अस्ट्रेलियाको सम्भावित ११

म्याट राएन, नाथनियल एट्किन्सन, फ्रान कारासिस, काए रोवलेस, ह्यारी सुटर, आरोन मुए, एजडिन ह्रुस्टिक, ज्याक्सन इर्भिन, जेमी म्याकलरेन, जासोन कमिङ्स, मिच डुक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close