टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २३ हजार सात सय पुगेको छ ।
दक्षिणी टर्कीमा गत सोमबार गएको दुई वटा शक्तिशाली भूकम्पमा परी टर्कीमा हालसम्म २० हजार २१३ जनाको मृत्यु भएको छ । टर्कीमा ८० हजार बढी मानिस घाइते भएका छन् ।
टर्कीमा पछिल्लो २४ घण्टामा थप ६७ जनाको सकुशल उद्धार भएको उपराष्ट्रपति फएत ओक्तयले जानकारी दिएका छन् । उक्त भूकम्पका कारण उत्तरी सिरियामा भने हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय पुगेको सिरियाली अधिकारीहरुले बताएका छन् ।
टर्कीमा उद्धार तथा खोजी कार्यमा करिब एक लाख ६० हजार उद्धारकर्मी परिचालन गरिएको विपद् तथा आपतकालीन व्यवस्थापन निकायले जानकारी दिएको छ । जसमा ७ हजार ७१६ विदेशी उद्धारकर्मी पनि सम्मिलित रहेका छन् ।
संयुक्त राष्ट्र संघले सिरियामा ५३ लाख मानिस घरविहीन अवस्थामा रहेको जनाएको छ । साथै टर्की र सिरियामा करिब ९ लाख मानिसका लागि तत्काल तातो खानाको आवश्यकता रहेको जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा अहिले हिमपातका कारण अत्यधिक चिसो रहेको र भूकम्प पीडितहरुका लागि कष्टकर अवस्था रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
सिरियाले आफ्नो नियन्त्रणभन्दा बाहिर रहेको भूकम्प प्रभावित क्षेत्रमा मानवीय सहायताको लागि अनुमति प्रदान गरेको छ ।यसैबीच, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडीले टर्की र सिरियालार्ई साढे ८ करोड अमेरिकी डलर सहायताको घोषणा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close