लाटोकोसेरो र वन्यजन्तुको संरक्षणमा क्रियाशिल आचार्य बेलायतमा पुरस्कृत

राजु कोइराला
बैशाख २०,  अमेरिका । लाटोकोसेरो र वन्यजन्तुको संरक्षणमा क्रियाशिल कास्की पोखराका राजु आचार्य विश्व प्रसिद्ध ह्विट्ली पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । ३५ बर्षयता लाटोकोसेरो र वन्यजन्तु संरक्षणमा विशिष्ट योगदान पुर्‍याएको भन्दै आचार्यलाइ बेलायतमा आयोजित कार्यक्रममा ५० हजार पाउन्डको पुरस्कारबाट पुरस्कृत गरिएको हो । बेलायती राजकुमारी एनले लन्डनमा आयोजित समारोहमा आचार्यलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
लामो समयदेखि निरन्तर वन्यजन्तुको अध्ययन र संरक्षणमा क्रियाशील आचार्य ‘प्रकृतिका साथीहरू’ नामक संस्थाको कार्यकारी निर्देशकसमेत हुनुहुन्छ । उहाँ डेढ दशकभन्दा लामो समयदेखि लाटोकोसेरोको संरक्षणमा क्रियाशील हुनुहुन्छ । आचार्यले प्राप्त गरेको पुरस्कारबाट लाटोकोसेरो संरक्षणमा खर्च गर्ने बताउनु भएको छ । आचार्यले नेपाल सरकारले बनाएको १० बर्से ‘लाटोकोसेरो संरक्षण कार्य योजना’ले तोकेको कार्यहरूमध्ये केहीमा पुरस्कार रकम खर्च गर्ने बताउनु भयो । जिन्दगीकै अविष्मरणीय खुसीको क्षण भन्दै आचार्यले पुरस्कारबाट प्राप्त रकमलाई वन्यजन्तु संरक्षणको कार्यमा खर्च गर्ने बताउनु भएको छ ।
पुरस्कृत आचार्यद्धारा लिखित लाटोकोसेरा सम्बन्धि ५ वटा पुस्तक प्रकाशित भइसकेका छन् । लाटोकोसेरोसम्बन्धी पत्रिका नेपाली डिजिटल पत्रिका ‘हाप्सिलो’ का सम्पादकसमेत रहनुभएका आचार्यका १ सय २५ भन्दा बढी प्रकृति सम्बन्धि आलेख प्रकाशित छन् । आचार्यकै सकृयतामा प्रत्येक वर्ष लाटोकोसेरेको संरक्षणमा सचेतना जगाउने उद्देश्यका साथ ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ पनि सञ्चाालन हुँदै आएको छ । लाटोकोसेरोका क्षेत्रमा क्रियाशील भएकै कारण उहाँलाई ‘उल्लु सर’ को उपमा पनि दिने गरिएको छ ।
लाटोकोसेरोका साथै ब्वाँसो, जङ्गली चौँरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, साना माङ्साहारी, गिद्ध, कालिज, मानव–वन्य जन्तु द्वन्द्व, जैविक विविधता अभिलेखीकरण, वन कार्बन, समुदायमा आधारित प्रकृति संरक्षण, हरित विद्यालय आदि क्षेत्रमा पनि काम गरेका आचार्य सन् २०११ मा अमेरिकाबाट ‘स्पेसल अचिभमेन्ट अवार्ड’ र सन् २०१८ मा नेपाल सरकारको ‘राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार’ लगायत पुरस्कृतबाट समेत पुरस्कृत भइसक्नुभएको छ ।
यस पटक बेलायतमा आचार्यसँगै ब्राजिल, भुटान, पपुवा न्युगिनी, क्यामरुन र गुयानाका छ जना संरक्षणकर्मीहरूलाइ सो पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कार वितरण कार्यक्रमको भिडियो सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close