सदस्यता शुद्धीकरणको किचलोले पत्रकार महासंघको निर्वाचन अनिश्चित

 सदस्यता शुद्धीकरणको किचलो नसुल्झिँदा नेपाल पत्रकार महासंघले २६ जेठमा तय गरिएको निर्वाचन अनिश्चित भएको छ । निर्वाचनको मिति आउन पाँच दिन बाँकी रहँदासम्म सदस्यता विवाद नटुंगिँदा निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन ।

महासंघले दलीय कमिटीमा आबद्ध, निष्क्रिय, गैरपत्रकार एवं विभिन्न पेसा तथा व्यवसायमा संलग्नहरूलाई हटाउन सदस्य शुद्धीकरणको मापदण्ड बनाएको थियो । जिल्ला, प्रदेश हुँदै केन्द्रीय कार्यसमितिबाट अन्तिम टुंगो लगाइएको नामावलीमा विभिन्न दलीय आस्थाका संगठनहरूले बिरोध जनाएपछि सदस्य विवाद बल्झिएको हो ।

सदस्यता नटुंगिएपछि निर्वाचन समितिले चुनावी प्रक्रिया अघि बढाउन सकेको छैन । महासंघको चुनावका लागि प्राध्यापक चिरन्जीवी खनालको नेतृत्वमा वरिष्ठ अधिवक्ता देवेन्द्र झा, शालिकराम सापकोटा, विष्णुमाया भुसाल, कपिलचन्द्र पोखरेल र अरुण पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ । समितिको सदस्य–सचिव महासंघका कानुनी सल्लाहकार भक्तिराम घिमिरे छन् ।

जिल्ला र प्रदेश कमिटीले अनुमोदन गरेका नामावलीबारे छानबिन गर्न महासंघ केन्द्रले सदस्यता शुद्धीकरण समिति बनाएको थियो । सो समितिले ८ जेठमै सदस्यता टुंग्याएर अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीलाई बुझाएको थियो । तर, शुद्धीकरणमा नाम छुटेको भन्दै प्रेस युनियनले बिरोध जनायो । युनियनको माग अनुरुप केही नाम थपिएपछि प्रेस चौतारी, प्रेस सेन्टर र समाजवादी प्रेसलगायतका संगठनले आपत्ति जनाएर केही नाम थप्न लगाए ।

सदस्यता समितिले साढे ६ महिनादेखि सदस्यता छानबिन गरिरहेको छ । सो समितिमा केसी लामिछाने, विकास कार्की, रामकृष्ण अधिकारी र उत्तर विष्ट सदस्य छन् । ८ जेठमा शुद्धीकरण समितिले झण्डै ८ हजार ५ सय सदस्यको नाम अघि बढाएको थियो ।

विभिन्न संगठनका माग सम्बोधन गर्दा केही संख्या तलमाथि भए पनि सोही हाराहारीमा नाम फाइनल हुने बताइएको छ । महासंघका महासचिव रोशन पुरी सरोकारवालासँग पर्याप्त छलफल गरेर विवाद सम्बोधन गरेर महासंघले सोमबार नै नामावली निर्वाचन समितिलाई बुझाउने र तोकिएकै मितिमा निर्वाचन हुने दाबी गर्छन् । ‘सदस्यता शुद्धीकरण समितिले फाइनल गरेको सदस्यता सूची आजै केन्द्रीय समिति टुंगो लगाएर निर्वाचन समितिलाई बुझाउँछ’, पुरीले शिलापत्रसँग भने, ‘समितिले नामावली प्रकाशन गरेपछि पनि दाबी बिरोध गर्ने ठाउँ छ । कुनै सक्रिय पत्रकार छुटेको वा शुद्धीकरणको मापदण्डविपरीत भए दाबी बिरोध गर्न सकिन्छ ।’

सतहमा सदस्यता विवाद देखिए पनि अघिल्लो महाधिवेशनभन्दा भिन्न चुनावी गठबन्धन हुने स्थितिले पनि २६ जेठको निर्वाचन सार्ने जोडबल भएको देखिन्छ । अघिल्लो निर्वाचनमा तत्कालीन सत्तारुढ गठबन्धननिकट पत्रकार संस्थाहरू कांग्रेसनिकट प्रेस युनियन, माओवादी केन्द्रनिकट प्रेस सेन्टर, नेकपा एसनिकट समाजवादी प्रेसलगायतको गठबन्धन बनेको थियो । सो गठबन्धनले महासंघको नेतृत्व करिब–करिब ‘क्लिन स्वीप’ गरेको थियो । एमालेनिकट प्रेस चौतारीका एकाध उम्मेदवारले मात्र जितेका थिए ।

सत्ता गठबन्धनमा हेरफेर हुँदा यसपटक नतिजा उल्टिने सम्भावना छ । वामपन्थी दलनिकट पत्रकार संगठनहरू गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् । ‘सदस्यता विवाद लम्बिँदा तयारीकै कारण पनि अलि नभ्याइन सक्छ । २/४ दिन वा साता/दस दिन पर सर्नसक्छ, तर निर्वाचन धेरै टाढा जाँदैन’ महासंघका एक पदाधिकारीले भने ।

महासंघकाे महाधविशेनका लागि तीन सदस्यीय अध्यक्षमण्डल बनाइएकाे छ । पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, डा महेन्द्र विष्ट र गाेविन्द आचार्य अध्यक्षमण्डलमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close