
प्रतिनिधिसभाका १२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित नेपाली काँग्रेस कर्णाली प्रदेश, प्रतिनिधिसभा निर्वाचन प्रचार–प्रसार मूल समिति सचिवालयले मिडिया सेन्टर उद्घाटन गरेको छ।
पार्टीका प्रदेश सभापति ललितजंग शाही र निर्वाचन प्रचार–प्रसार मूल समिति संयोजक गोविन्द कोइरालाले संयुक्त रूपमा मिडिया सेन्टरको औपचारिक शुभारम्भ गर्नुभएको हो।
उद्घाटनपछि बोल्दै सभापति शाहीले कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारका चुनावी गतिविधिलाई व्यवस्थित र प्रभावकारी ढंगले सार्वजनिक गर्न एकद्वार प्रणाली अपनाइएको बताउनुभयो। उहाँका अनुसार अब उम्मेदवारका कार्यक्रम, भेटघाट, सभा–सम्मेलन तथा अन्य चुनावी गतिविधि मिडिया सेन्टरमार्फत आधिकारिक रूपमा सार्वजनिक गरिनेछ। यसले सूचना प्रवाहलाई छरितो, विश्वसनीय र समन्वयात्मक बनाउने उहाँको भनाइ छ।
यस्तै निर्वाचन प्रचार–प्रसार मूल समिति संयोजक गोविन्द कोइरालाले प्रतिनिधिसभा निर्वाचन २०८२ का उम्मेदवारहरूको दैनिकी गतिविधि तथा चुनावी कार्यक्रमहरू समयमै सार्वजनिक गर्न मिडिया सेन्टरले सक्रिय भूमिका खेल्ने बताउनुभयो। उहाँले सञ्चारमाध्यमसँग समन्वय गर्दै पार्टीका आधिकारिक धारणा र गतिविधि नियमित रूपमा उपलब्ध गराइने जानकारी दिनुभयो।
पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रचार–प्रसारलाई प्रभावकारी, व्यवस्थित र योजनाबद्ध बनाउन मिडिया सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।






