एभरेष्ट अस्पतालको फोहोर संकलनमा काठमाडौँ महानगरको रोक

काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको टोलीले अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नुपर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाएको हो ।

अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा २०७९ सालमा त्रुटि पाइएपछि ९ बुँदे सुधारका सुझाव दिएर पत्र पठाइएको थियो । पत्रबाट गर्नु भनेका कामहरु अहिले पनि नगरेको पाइएको हो ।  अस्पतालमा फोहोर वर्गीकरण गर्ने बाल्टिनको रङ्ग संकेत ख्याल नगरिएको, संकलित फोहोर भण्डारण व्यवस्थापन नभएको, संक्रमणयुक्त फोहोर निर्मलीकरण गर्ने ठाउँमा पुग्न नै कठिन भएको, भएको मेसिन पनि नचलेको जस्तो लापरवाही देखिएको भन्दै महानगरले फोहोर संकलन कार्यमा रोक लगाइएको हो ।

अनुगमनमा क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले स्वास्थ्य संस्थाजन्य हानिकारक फोहोरले मानव तथा प्राणी स्वास्थ्य र वातावरणमा प्रत्यक्ष नकारात्मक असर पार्ने भएकाले अस्पतालबाट निस्कने हानिकारक फोहोर व्यवस्थापनमा सानातिना त्रुटि पनि स्वीकार नुहने बताए ।

निजी अस्पतालहरुको सेवा राम्रो भनिएपछि फोहोर व्यवस्थापनको अभ्यास हेर्दा निजीले भन्दा सरकारी अस्पतालले राम्ररी काम गरेको पाइएको उनको भनाई थियो । गलत गर्नेलाई सरकारी नै भए पनि कारबाहीको दायरामा ल्याइएको बताए । यसअघिको अनुगमनबाट महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको थियो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले हानिकारक फोहोर निर्मलीकरणपछि सामान्य फोहोर हुने प्रणाली कार्यान्वयनमा आएको सुनिश्चित भएपछि कारबाही फुक्का हुने बताए ।

आजै मीनभवनस्थित सिभिल अस्पतालको समेत अनुगमन गरिएको छ । सिभिल अस्पतालमा फोहोर संकलनका लागि राखिएका सबैजसो बाल्टिन काला रङ्गका छन् । बिर्कोहरु हरियो, पहेँलो, नीलो राखिएको छ । अनुगमन समितिले रंग संकेतका बारेमा सोधपुछ गर्दा सिभिल अस्पतालले राष्ट्रिय मापदण्ड कार्यान्यनमा आउनु अघि नै विश्व स्वास्थ्य संगठनको मापदण्ड कार्यान्वयनमा ल्याएकाले यस्तो भएको बताएका थिए ।

अस्पतालहरुले फरक फरक मापदण्डको पालना गर्दा सर्वसाधारण झुक्किने गरेकाले अब राष्ट्रिय मापदण्ड कार्यान्वयनका लागि सार्वजनिक आव्हान गर्ने प्रमुख प्रशासकीय अधिकृत परियारले बताए । कुन बाल्टिनमा कस्तो फोहोर हाल्ने हो भन्ने कुराको स्पष्ट संकेतका लागि अक्षर र चित्र दुवै राख्नुपर्ने सुझाव दिएको बताए ।

अनुगमनका क्रममा फोहोर उत्पादन हुने वार्डहरू, ढुवानी हुने मार्ग, भण्डारण तथा अटोक्लेभ गरिने ठाउँ, फोहोरमा काम गर्ने जनशक्तिको स्वच्छता सम्बन्धी आचरणहरु हेरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close