होटल–रेष्टुरेन्ट सञ्चालनमा

सरकारको निर्णयपछि होटल तथा रेष्टुरेन्ट सेवा बिहीबारदेखि सञ्चालनमा आएका छन् । कोरोभाइस नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनका कारण बन्द रहेका होटल तथा रेष्टुरेन्ट चार महिनापछि सञ्चालनमा आएका हुन् । “सरकारले तोकेको मापदण्डअनुसार होटल सञ्चालनमा आएका छन्,” होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले भने, “होटलले आफ्ना कर्मचारीलाई तालिम दिएर सुरक्षित सेवा प्रवाह गर्नेछन् ।” उनका अनुसार आजको भोलि नै पाहुना आइहाल्ने अवस्था नभए पनि आगामी सिजनका लागि मार्केटिङ, बुकिङ, सेल्सको काम अगाडि बढाउँदै अघि बढ्ने व्यवसायीको योजना छ । कोभिड–१९ को विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्नुपर्ने चुनौतीका बाबजुद पनि आर्थिक उपार्जनलाई चलयमान बनाउन व्यवसायीहरुले सेवा सुचारु गरेको शाहको भनाइ छ ।
सरकारले भदौ १ गतेबाट आन्तरिक तथा वाह्य हवाई उडान सञ्चालनमा ल्याउन अनुमति दिएको छ । त्यसपछि भने केही व्यापार व्यावसायमा वृद्धि हुने आशा होटल तथा रेष्टुरेन्ट व्यावसायीको छ । हवाई र स्थल यातायातमा सञ्चालनमा आएसँगै आगमनमा वृद्धि भएर व्यापार व्यवसायमा वृद्धि हुने अपेक्षा राखिएको छ । सो अनुसार आउने पर्यटकीय सिजनका लागि भने तयारी गर्नको लागि व्यवसायीहरु लागि परेका छन् । बजारको मागलाई हेरेर होटलहरुले सेवा प्रवाहलाई थपघट गर्ने राणनीतिक योजना अगाडि सारेका छन् ।

नेपाल पर्यटन बोर्डले २ सय बढी रेष्टुरेन्टलाई दिएको तालिमको आधारमा सुरक्षा अपनाएर सेवा प्रदान गरिएको रेष्टुरेन्ट तथा वार एसोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारीले बताए । उनले भने, “पर्यटकमा निर्भर रहेका रेष्टुरेन्ट बढिरहेकाले गर्दा पर्यटकको आगमन सहज नभै ब्यापार व्यावसायले तत्काल गति लिने अवस्था भने छैन ।” यसअघि सरकारले ‘टेक अवे’ सुविधा मात्र प्रदान गरेको थियो ।
औपचारिक रुपमा होटल खुलेपछि पहिलो आन्तरिक पर्यटक बनेर धुलिखेल माउन्टेन रिसोर्ट पुगेका नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आन्तरिक पर्यटनमा जोड दिनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close