कांग्रेसभित्र नाडी छाम्दै सभापतिका आंकाक्षी, अझै देखिएन समीकरणको आकार

१४ औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसभित्र नेतृत्व हत्याउने खेलमा नेताहरू लागेका छन् । सभापतिदेखि पदाधिकारीका आकाक्षींहरू पनि छलफल र मोर्चाबन्दीमा जुटेका छन् ।

पुरानो गुटबाट बाहिर निस्की प्रत्यासीहरूले एक–अर्कालाई फकाउनुका साथै काउन्टर पनि दिइरहेका छन् । तर, कुनै पनि शीर्ष आकांक्षीले एक–अर्कालाई सहयोगको वचन नदिएकाले कांग्रेससभित्र कस्तो समीकरण बन्छ अझै अनुमान गर्न कठिन छ ।

असार १५ मा दही चिउरा खाने भन्दै कांग्रेसभित्र तीन ‘राजकुमार’ भनिनेको लञ्च मिटिङ्ग मंगलबार पनि भयो । उपसभापति विमलेन्द्र निधिको निवासबाट सुरु भएको संवाद श्रृङ्खला, महामन्त्री शशांक कोइराला हुँदै चाक्सीबारी अर्थात् प्रकाशमान सिंहको निवासमा भएको छ ।

सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका उनीहरूबीच तीन पटक छलफल भए पनि निचोड भने निस्किएको छैन । तीन नेता शुक्रबार केन्द्रीय सदस्यसँग छलफल गर्ने मनसायमा पुगेका छन् । आफूहरू छलफलमै रहेको र फल नपाकिकन नखाने पक्षमा रहेको प्रकाशमान सिंह बताउनुहुन्छ ।

पाँच वर्ष ६ महिनापछि हुन लागेको महाधिवेशनमा नेतृत्व हत्याउने आकांक्षा सबैमा छ । सभापति शेरबहादुर देउवाले कार्यकाल दोहोर्‍याउने सार्वजनिक घोषणा गर्दै सात प्रदेशका आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेर रणनीति स्पष्ट पारिसक्नुभएको छ ।

देउवालाइ काउन्टर दिन नेता रामचन्द्र पौडेलले पनि एक पार्टी प्यालेसमा भेलाको आयोजना गरिसक्नुभयो । सोमबार मात्र रामचन्द्र पौडेल, कृष्ण सिटौला र सुजाताा कोइरालाबीच लञ्च मिटिङ्ग भएको छ । यस्तै, सभापतिका अर्का आकांक्षी शेखर कोइरालालाई बोहोराटार बोलाएर पौडेलले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्नुभएको छ । सोही दिन प्रकाशमान सिंहलाइ पनि पौडेलले आफ्नो निवासमा बोलाएर सभापतिमा सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।

यसबीचमा सभापतिका आकांक्षीहरू शेखर कोइराला र प्रकाशमान सिंहबीच पनि पटक–पटक भेटवार्ता भएको छ । यस्तै गगन थापा, गुरु घिमिरे, जीवन परियार, प्रदिप पौडेलल लगायतका नेताहरूले विमलेन्द्र निधिसँग छलफल गरेका छन् । शेखर कोइरालाले देउवा निकट मानिएका सम्पूर्ण केन्द्रीय तथा प्रभावशाली नेताहरूसँग छलफललाई तीव्र बनाउनुभएकाे छ ।

नेताहरूको दौडधुप हेर्ने हो भने कांग्रेस महाधिवेशनमा सभापतिका आकांक्षीहरू दर्जन पुग्न सक्ने देखिन्छ । नेताहरूले पनि एक अर्कालाई काउन्टर दिन र आफूसँग शक्ति छ भनेर देखाउन समूहगत छलफल चलाएको हुनसक्छ । यो छलफल एक अर्कालाई देखाएर पदको बार्गेनिङ्गको राम्रो मसला बन्नेमा नेताहरू ढुक्क छन् । तर, कुनै पनि आकांक्षीले अर्कोलाईे वचन नदिइसकेकाले कस्तो समीकरण बन्छ, अहिले नै अनुमान गर्न कठिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close