आठौं नेपाल डे मा गायक शर्माको प्रस्तुतिमा झुमे नेपालीहरु

राजु कोइराला
बैशाख ९, नर्थ क्यारोलाइना, अमेरिका ।
अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा आठौं नेपाल डे २०२४ भव्यताका साथ मनाइएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले आयोजना गरेको नेपाल डे कार्यक्रम नर्थ क्यारोलाइना राज्यस्थित टाउन अफ मोरिस्भिलमा मनाइएको हो । कार्यक्रममा नेपाली संगीतका लोकप्रिय गायक हेमन्त शर्माको प्रस्तुतिमा नेपालीहरु रमाएका थिए।
कार्यक्रममा नर्थ क्यारोलाइना हाउस सदस्य मारिया सर्वानिया, नर्थ क्यारोलाइना हाउस सदस्य या लु, वेक काउन्टी कमिस्नर सेरिल स्टलिन, वेक काउन्टी कमिस्नर डोन मियालको सहभागिता रहेको थियो । कार्यक्रममा मोरिस्भिल टाउन काउन्सिल सदस्यहरू स्टिव राव, सतिश गरिमेला , लिज़ जोन्सनको समेत सहभागिता रहेको थियो ।

यस्तै नेपाल डे २०२४ मा केरी टाउन काउन्सिल सदस्य सारिका बन्सल, एपेक्स टाउन काउन्सिल सदस्य आर्नो जिगर्म्यानको सहभागिता रहेको थियो ।
कार्यक्रममा आगन्तुक वक्ताहरूले नयाँ वर्षको शुभकामनाका साथै कार्यक्रम आयोजना गरेकोमा एनसीएनसीलाई धन्यवाद दिएका थिए ।
उल्लेख्य नेपालीहरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रमको शुरुवात पञ्चकन्या र कुमारी सहितको सांस्कृतिक झाँकी एवं विभिन्न नेपाली परम्परागत भेषभूषामा सजिएका नेपालीहरुले परेडमार्फत गरेका थिए । कार्यक्रममा गायक शर्माले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए । नेपाल डे को अवसरमा एक ठाउँमा जम्मा भएका नेपालीहरुले एक आपसमा नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा नेपलाी पहिरनमा विभिन्न जातजातिका पहिचान सहितको भेषभुषामा नेपालीहरु सहभागि भएका थिए ।

नेपाली पहिचान झल्कने नेपाल डे कार्यक्रमलाई नेपालीहरुले एक उत्वसका रुपमा लिने गरेका छन् । मोरिस्भिल निवासी प्रकाश ढुंगानाले अमेरिकाको विभिन्न क्षेत्रमा वस्ने नेपालीहरुको मिलन हुने दिनका रुपमा नेपाल डे रहेको बताउनु भयो । कार्यक्रमका सहभागि ढुंगानाले नेपाली मौलिक भेषभुषा, कला संस्कृति र सांस्कृतिक सम्पदालाई पुस्ता हस्तान्तरणका लागि नेपाल डे महत्वपूर्ण संगम भएकाे बताउनु भयो ।
‘नर्थ क्यारोलाइनावासी नेपालीहरुको अपार उपस्थितिले आठौं नेपाल डेलाई भव्य रूपमा सम्पन्न गर्न मद्दत गरेको नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) का अध्यक्ष डा.विकास शाक्यले बताउनु भयो । उहाँले यो उपस्थितिले आगामी दिनहरुमा नेपाली कला संस्कृतिको संरक्षण र प्रवद्धनमा अझै सशक्त र प्रभावकारी रुपमा काम गर्न प्रेरणा मिलेको बताउनु भयो । प्रवासमा नेपाली मौलिक संस्कृतिलाई जीवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न नेपाल डे महत्वपूर्ण क्षण भएको अध्यक्ष डा‍. शाक्यले बताउनु भयो । अमेरिकामा पछिल्लो समय नेपालीको बाक्लो बस्ती रहेको राज्यहरु न्युयोर्क, नर्थक्यारोलिना, क्यालिफोर्नियालगायतका राज्यहरुमा वर्सेनी नेपाल डे मनाइदै आइरहेको छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close