
पाेखरामा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाइएको छ।
पोखरा वडा ९ बसोबास गर्ने एकै परिवारका ९ सदस्यमा कोरोना पुष्टि भएपछि सतर्कता अपनाइएको वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए।
उनका अनुसार २ दिनअघि परिवारका २ जनामा कोरोना पुष्टि भएकोमा उनीहरुको कन्ट्याक्टमा आएकाको मंगलबार भएको पीसीआर परीक्षणमा थप ७ जनामा संक्रमण देखिएकाे हाे। जससमा ६ महिला (१ बच्चासमेत) र १ जना पुरुष छन्। यसअघि २ जना (महिला/पुरुष) संक्रमित थिए।
गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ विज्ञप्ति जारी गरी वडा ९ का ४ महिलाहरु वर्ष ११, ३५, २७, ३७ तथा पुरुष वर्ष ३० र ३१ मा कोरोना पुष्टि भएको जनाएको छ। वडामा पहिले २ र अहिले ७ गरी कुल ९ जनामा कोरोना देखिइसकेको महानगरका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यलाई उद्घृत गर्दै वडाध्यक्ष लामिछानेले दाबी गरे।
वडाले सोमबार नै सूचना जारी गरी अत्यावश्यक कामबाहेक सकेसम्म घरबाहिर ननिस्कन वडावासीमा आग्रह गरिसकेको थियो। अब थप सचेतना उपाय के गर्नेबारे सरोकारवालासँग छलफल गरी निर्णय गरिने उनले बताए। वडा ९ पोखराको मुख्यबजार क्षेत्र पर्छ।
पोखरामा हालसम्म १ सय ६४ जना संक्रमित भेटिएका छन्। मंगलबार मात्र पोखरामा १५ जना संक्रमित थपिएका हुन् ।
बिहान पोखरा वडा ५ का ११ वर्षीय बच्चा (पुरुष) र ३८ वर्षीया महिला, वडा १७ की ४५ वर्षीया महिला र वडा ३० का ३० वर्षीय पुरुषलाई कोभिड–१९ पुष्टि भएको थियो।
त्यस्तै, साँझ वडा ९ र वडा १९ मा गरी ११ संक्रमित भेटिएका हुन्। वडा १९ का ५२, ८०, ६१ र २५ का ४ जना महिलामा संक्रमण देखिएको छ। त्यस्तै पोखराकै वडा नखुलेकी ३७ वर्षीया महिला छन्।
पोखरामा कुल संक्रमितमध्ये १ सय ७ जना निको भइ डिस्चार्ज भैसकेको छन् । शनिबार रातिमात्र पोखरा १९ का ६२ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको थियो।
गण्डकी प्रदेशमा कुल संक्रमित संख्या १ हजार ६ सय ४८ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २५ जना मंगलबार मात्र थपिएका हुन् । कास्कीमा ११, बागलुङ र तनहुँमा २–२ जना तथा स्याङजामा ४ महिला र २ पुरुष गरी ६ जना संक्रमित भेटिएका हुन् ।
गण्डकीमा हालसम्म २९ हजार ८ सय ३४ नमुना संकलनमा कुल संक्रमितमध्ये १ हजार ४ सय ९३ निको भएका छन् । मृत्यु हुनेको संख्या ५ पुगेको छ। तीमध्ये स्याङ्जाका २, गोरखा, बागलुङ र कास्कीका १–१ जना पुरुष छन् ।
गण्डकी प्रदेशअन्तर्गत पोखरास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा सोमबारदेखि कोरोना संक्रमितको उपचार सेवा सुरु गरिएको छ।