
४-५ वर्ष अघिसम्म सेताम्मे देखिने यहाँका हिमाल पछिल्लो समय भने जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर पत्थर मात्र देखिने गरेको थियो । तर बिहीबार परेको हिउँले सिस्नेलगायत हिमाल सेताम्मे देखिएका छन् ।
हिमपात भएसँगै चिसो बढेको छ । चिसोले नागरिकको जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै आकाशमा लागेको बादलको कारणले गर्दा रुकुमपूर्वलगायत आसपासका क्षेत्रमा टेलिफोन सेवामा पनि अवरुद्ध भएको छ । घामको भरमा सञ्चालन हुने रुकुमपूर्वका टावर आकाशमा बादल लाग्ने वित्तिकै फोनले काम गर्न छोड्छ ।
लामो समयपछि रुकुमपूर्वको उच्च हिमाली क्षेत्र सिस्ने र पुथा हिमाललगायत ती आसपासका क्षेत्रमा हिमपात भएको हो । रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ ।
हिमपातकै कारण लामो समयसम्म पत्थर मात्र देखिने हिमाल सेतै देखिएका छन् । तर जिल्लामा चिसो बढ्दा नागरिकको जनजीवनमा असर परेको छ । रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ ।
हिम सुन्दरताले मोहनी
बिहानी पखको झुल्के घामसँगै रुकुमपूर्वका अग्ला डाँडाबाट सुन्दर हिमशृंखलाले मोहनी लगाएका छन् । बिहीबार हिमपात हुँदा हिमालले मुस्कान दिइरहेका छन् । खडेरीको वेला सुख्खा देखिने यहाँका हिमाल आजभोली भने हिउँले निकै सुन्दर देखिएका छन् ।
डाँडाकाँडामा हिमपात भएपछि निकै सुन्दर देखिन थालेका छन् । यहाँका हिउँले भरिएका सेता हिमालका चुचुरा नियाल्दा आनन्द मिल्ने गरेको छ ।
यहाँका स्थानीयवासीसँगै बाहिरबाट आएका आन्तरिक पर्यटक हिउँसँगै लुकामारी गरिरहेका छन् । यहाँका हिमशृंखलासँग स्थानीयवासी र बाहिरबाट आएका आन्तरिक पर्यटक चिसोलाई भुलेर पनि रमाइ रहेका छन् । हिउँले टलक्क टल्केका हिमालतर्फ मुस्कुराउँदै धेरैले सुन्दरताको बयान गर्ने गरेका छन् । रासस