आज पनि देशका अधिकांश स्थानमा बर्षा, कहाँ–कहाँ छ ठूलो पानी पर्ने सम्भावना ?

नेपालमा आज (शुक्रबार) पनि देशका धेरैजसो स्थानमा वर्षा हुने मौसमविदले जनाएका छन् ।

अहिले बिहान काठमाडौं उपत्यकामा घाम देखिएको भए पनि उत्तरी भागतर्फ भर्खरै वर्षा शुरु भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् । आज देशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना रहेको उनले बताएकी छिन् ।

आज दिउँसो प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मानन्धरले जानकारी दिएकी छिन् ।
आज मौसम कहिले घाम कहिले पानी हुने जानकारी दिंदै मौसमविद् मानन्धरले भनिन्, ‘उपत्यकाको उत्तरी भागबाट वर्षा शुरु भइसकेको छ ।’

यस्तै राति पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
बुलेटिनअनुसार राति प्रदेश–१ ,बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश–५ का एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

बाढी पहिरोमा परी १६७ जनाको मृत्यु, ५६ जना अझै वेपत्ता
नेपालमा मनसुन सक्रिय भएयता बाढी पहिरोमा परेर हालसम्म १६७ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा कालीकोटमा तीन जनाको शव पहिरोबाट निकालिएसँगै ज्यान गुमाउनेको संख्या १६७ पुगेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिएका छन् ।

यस्तै जेठ ३० गतेदेखि अहिलेसम्म ५६ जना अझै हराइरहेका छन् । ९९ जना घाइते भएका छन् । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २० जना र संखुवासभामा ११ जना हराइरहेको वस्तीले बताएका छन् । उनीहरुको खोजी भइरहे पनि फेला पर्ने सम्भावना भने कम हुँदै गएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले बताएका छन् ।

यता बुधबारदेखिको वर्षाका कारण आएको बाढीले कैलालीमा ६ हजारभन्दा धेरै घर डुबानमा परेका छन् । टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा रहेका घरहरु डुबानमा परेका हुन् । ती घरमा बस्ने मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close