
पछिल्लो चौबिस घण्टामा पहिरोको घटनामा परी २ जनाको मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका-४ मठैराजस्थित एक घर पहिरोले पुरिदा एकै परिवारका आमा र छोराको मृत्यु भएको हो। योसँगै २०७७ वैशाख १ गतेबाट पहिरोबाट ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ।
यो वर्ष पहिरोका घटनामा परी ४३ जना वेपत्ता र १४५ जना घाइते भएका छन्। पछिल्लो एक दशकमा पहिरोमा परी सबैभन्दा बढीको मृत्यु यस वर्ष भएको छ।
जेठ ३० गते मनसुन सुरु भएयता मात्र पहिरोका घटनामा परी १७६ जनाको मृत्यु, ४३ जना बेपत्ता र १४४ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणको तथ्याङ्क अनुसार २०७७ वैशाख १ गते यता विभिन्न विपद्का घटनामा परी २३४ जनाको मृत्यु, ५५ बेपत्ता र ३१२ जना घाईते भएका छन्।