प्रधानमन्त्री ओलीलाई संघीयता र समावेशिता मन परेको छैन : वर्षमान पुन

प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता र  समावेशिता मन नपरेको बताएका छन्।

काठमाडौंमा जनता समाजवादी पार्टीले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता पुनले प्रधानमन्त्री ओलीलाई संघीयता र  समावेशिता मन नपरेकाले नै संसद विघटन गरेको दाबी गरे।

‘पार्टीभित्र अन्तर्विरोध थियो। तर, प्रधानमन्त्रीले संसद नै विघटन गर्नुपर्ने अवस्था थिएन। उहाँलाई संघीयता मन नपरेको कारणले असफल बनाउनका लागि संसद विघटन गर्नुभयो,’ पुनले भने, ‘पार्टीभित्र र संसदमा पनि उहाँलाई कुनै असहयोग भएको थिएन।’

नेता पुनले संसद विघटन गर्ने प्रधानमन्त्रीको कुनै अधिकार नभएको दाबी गरे। ‘प्रधानमन्त्रीको विशेष अधिकार र काम गर्न नदिएको विषय उहाँले उठाउनुभएको छ। तर, पार्टीको विवादले लोकतन्त्रलाई असर पार्न पाइँदैन,’ उनले भने, ‘असंवैधानिक कदम चालिएको छ। यसविरुद्ध एकजुट भएर लाग्नुपर्छ।’

संसद विघटन गर्ने बैठकमा पनि आफूले त्यस विषयमा कुरा उठाएको पूर्वऊर्जामन्त्री समेत रहेका पुनले बताए। ‘उहाँले आफूखुसी मन्त्रिपरिषद्को बैठक राखेर संसद विघटन गर्नुभयो। उहाँ निकटका मन्त्री प्रदीप ज्ञवालीले समेत त्यसको विरोध बैठकमा गर्नुभएको थियो,’ पुनले भने, ‘उहाँले कसैको कुरा सुन्नुभएको भए देशमा यस्तो अवस्था आउँदैनथ्यो।’

प्रधानमन्त्री ओलीले अहिले मात्रै नभएर यसअघि पनि पटक–पटक पार्टी फुटाउने प्रयास गरेको नेता पुनले आरोप लगाए। ‘प्रधानमन्त्री ओलीले बैशाखमा पनि पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। त्यो फिर्ता भयो। यता पार्टी बैठक चलिरहेको बेलामा पनि संवैधानिक परिषद्को अध्यादेश ल्याउनुभयो,’ उनले भने, ‘उहाँले पार्टीभित्रको कुरा पनि कहिल्यै सुन्नु भएन र निर्णय पनि मान्नु भएन।’

प्रधानमन्त्री ओलीको कदमलाई रोक्न ८३ सांसदको हस्ताक्षरसहित बैठकको माग गर्दै राष्ट«पति कार्यालयमा पुग्दा समेत दर्ता नभएको उनले स्मरण गरे। सत्तारुढको पार्टीको विवादले लोकतन्त्रमा खतरा हुनु नहुने उनले बताए। पार्टीभित्रको विवाद पार्टीमै बसेर समाधान गर्नमा प्रधानमन्त्री ओली नलागेको उनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close