निरन्तर वर्षाले राजमार्ग, जलविद्युत्, पुल र तटबन्धमा ३ अर्ब ३३ करोडको क्षति

यो वर्षको मनसुन सक्रिय भएसँगै निरन्तर परेको झरीले साउन दोस्रो हप्तासम्म जलविद्युत् आयोजना, राष्ट्रिय राजमार्ग, पुल र नदी नियन्त्रण तथा बाँध क्षेत्रमा ३ अर्ब ३३ करोड रुपैयाँको क्षति पुगेको छ । क्षति पुगेका संरचना निर्माण गर्न करिब ७ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

राजमार्ग तथा पुलमा अहिलेसम्म २ अर्ब रुपैयाँको क्षति भइसकेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । ‘सबै ठाउँको यथार्थ विवरण अझै आइनसकेका कारण यो क्षतिको रकम बढ्न सक्छ,’ उनले भने । सडक तथा पुलमा क्षति भएको संरचना पुनर्निर्माण गर्न डेढ गुणा थप लागत आवश्यक पर्छ । यसकारण पनि अहिलेसम्मको क्षति भएका संरचना पुनर्निर्माण गर्दा ३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ । ‘परिस्थिति सामान्य रहेमा साउन अन्तिमसम्ममा कति क्षति भयो र त्यसलाई पुनर्निर्माण गर्न आवश्यक लागतको यथार्थ जानकारी थाहा हुन्छ,’ उनले भने ।

राजमार्गहरूमध्ये अरनिको राजमार्गमा मात्रै १ अर्ब रुपैयाँको क्षति भएको सडक विभागको अनुमान छ । त्यसपछि कालीगण्डकी करिडोर बेँसीसहर–चामे सडक र साफेबगर–मार्तडी सडक धेरै प्रभावित भएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए । ‘अझै धेरै पहिरो जाने र बाढी आउने समय बाँकी रहेकाले थप क्षति हुन सक्छ,’ उनले भने, ‘धेरै ठाउँमा सडक बगाएको छ भने पुल भत्काएको छ ।’

देशभरका जलविद्युत् आयोजनामा अहिलेसम्म १ अर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । अहिले देशभरबाट तथ्यांक संकलनको काम भइरहेको नेपाल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का महासचिव आशिष गर्गले जानकारी दिए । ‘जलविद्युत्मा बाढीपहिरोसँगै दैनिक उत्पादन हुने विद्युत् लामो समय खेर जाँदा क्षति अझ बढ्छ,’ उनले भने । संरचनामा हुने क्षतिको केही प्रतिशत भने बिमाले व्यहोर्छ ।

शुक्रबार मात्रै साढे ७ मेगावाट क्षमताकोे इन्द्रावती जलविद्युत् आयोजनामा बालुवा थिग्र्याउने पोखरीलाई पहिरोले क्षति पुर्‍याएको छ । कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेका अनुसार आयोजनामा १ करोड रुपैयाँको क्षति पुगेको छ । ‘त्यसलाई निर्माण गर्न थप २ करोड आवश्यक देखिएको प्रारम्भिक अनुमान छ,’ उनले भने । बाँध तथा नदी नियन्त्रणमा पनि करिब ३३ करोड रुपैयाँको क्षति पुगेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीले जानकारी दिए ।

क्षति भएको ठाउँमा दीर्घकालीन तटबन्ध नै निर्माण गर्दा २ अर्ब ३२ करोड रुपैयाँ लाग्ने अनुमान छ । ‘यो प्रारम्भिक आकलन हो,’ उनले भने । ठूला नदीहरूले धेरै ठाउँमा कटान गरेको छ । यस क्षतिमा डुबानले घर बगाएको, खेती नष्ट गरेको तथा अन्य बिगार गरेको क्षति भने जोडिएको छैन । डुबान र बाढी अझ आउने सम्भावना रहेकाले क्षति बढ्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close