नाटक घर नखुलेपछि भाडा तिर्न गाह्रो

कोरोना संक्रमणका कारण विगत पाँच महिनादेखि काठमाडौंका नाटक घरहरू बन्द छन् । काठमाडौंमा रहेका आधा दर्जन नाटक घर अब कहिलेबाट खुल्छन् भन्नेबारे नाटकघर सञ्चालकहरूले समेत बताउन सकेका छैनन् । नाटकघर बन्दका कारण व्यावसायिक कार्यक्रम र नाटक मञ्चन हुन नसक्दा अहिले नाटकघरको भाडा तिर्न गाह्रो भएको शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले बताएका छन् ।

नवराज मात्र हैन, काठमाडौंको अनामनगरमा रहेको नाटकघर मण्डल थिएटरको अवस्था पनि उस्तै छ । सर्वनाम थिएटर आफ्नै भवनमा भएका कारण उनीहरूले भाडा तिर्नुपरेको छैन । बाँकी काठमाडौंका आधा दर्जन नाटकघर अहिले कार्यक्रमबिना पनि नाटकघरको भाडा तिर्न बाध्य छन् ।

नाटकघर लामो समयदेखि खोल्न नसकेका कारण नाट्यकर्मीमा नैराश्य छाएपछि उनीहरूलाई व्यस्त बनाउन लकडाउनदेखि नै आफूले विभिन्न कार्यक्रम गर्दै आएको शैली थिएटरका अध्यक्ष तथा नाट्यकर्मी नवराज बुढाथोकीले बताए । आफूहरूले लकडाउनको बेलामा विश्व बालकविता महोत्सव होस् वा राष्ट्रियस्तरमा आयोजना गरेको निबन्ध प्रतियोगिताजस्ता कार्यक्रम भर्चुअल माध्यमबाट सञ्चालन गरेको पनि बुढाथोकीले बताए, ‘शैली थिएटर आफ्ना दर्शकसँग जोडिने सिलसिला कायम नै राखेको छ ।

अहिले शैली थिएटरले आफ्नो फेसबुक पेजमार्फत लाइभ गरेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वसँग भलाकुसारी गर्नेगरी ‘शैली संवाद’को सुरुवात गरेको छ ।’ एक दिन बिराएर फेसबुकमार्फत विभिन्न विषयमा कुराकानी गर्ने योजनाअनुसार भिन्नभिन्न नाट्यकर्मीहरूलाई आमन्त्रण गरिएको पनि उनले बताए ।

यसै प्रसंगमा थिएटरका महासचिव एवं कार्यक्रमका परिकल्पनाकार नारायण न्यौपानेले भने, ‘लकडाउनपछि पनि जीवन अझै सहज नभएकाले ठूलो समूह नाटकघर आएर काम गर्ने अवस्था छैन । यसकारण पनि भर्चुअल माध्यमबाट आफ्ना दर्शक र सहकर्मीसँग सम्बन्ध जोडी राख्न सानो समूहमा काम सुरु गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close