
जात्रा तथा मेलामा गाइने तामाङ मौलिक गीत संरक्षणका लागि तामाङ साहित्यिक संस्थाहरु जुटेका छन्। कोरोना महामारीका कारण गत चैतदेखि गरिएका लकडाउन तथा निषेधाज्ञका कारण देशका विभिन्न स्थालनमा अझै पनि कुनै जात्रा, मेला तथा उत्सवहरु नभएका बेला तामाङहरुले भर्चुअल माध्यमबाट जात्रामा गाइने गीतको स्वाद मात्रै लिएनन् संरक्षणका लागि पहल समेत गरिएको छ।
जात्रा तथा मेलामा बाजागातविना गाइने तामाङ मौलिक गीतलाई फापरे ह्वाइ भनिन्छ। यो गीतको खोजी तथा संरक्षणका लागि तामाङ डाजाङ र तामाङ न्हाङखोर नामक दुई साहित्यिक संस्थाले साताव्यापी फापरे गीत प्रतियोगिता सम्पन्न गरेको छ। कोरोनाले गर्दा विकास भएको भर्चुअल माध्यम तामाङ गीतलाई गाउँबेंसी, जात्रामा मात्रा नभई अन्तर्राष्ट्रियकरण गर्ने अवसर मिलेको र त्यसको सदुपयोग गरी साताव्यापी गीत गाउने प्रतियोगिता आयोजना गरिएको तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जनले बताए।
तामाङ संस्कृतिका मर्मज्ञा लेखक सन्तवीर लामा पाख्रिनको १२४ औं जन्मजयन्तीको अवसरमा मंसिर ८ देखि शुरु गरिएको गायन प्रतियोगिता मंसिर १४ मा सम्पन्न भएको हो। तामाङ मौलिक ‘फापारे ह्वाइ गायन प्रतियोगिता २०७७’मा रामेछापका प्रेम घिसिङ र सिन्धुपाल्चोककी मेलिना योन्जनको जोडी प्रथम भएको छ। प्रथम जोडीले प्रमाणपत्रसहित २० हहार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। यस्तै, द्वितीय रौतहटका जमदार थिङ र दिलमाया स्याङतान, तृतीय सिन्धुपाल्चोकको विनोद थिङ र कविता थोकरको जोडी भएका छन्। यस्तै, सन्त्वाना सिन्धुपाल्चोकको श्याम योन्जन र लक्ष्मी गोलेको जोडी भएका छन्। प्रतियोगिताका द्घितीयालाई १४ हजार, तृतीयलाई १० हजार र सन्त्वानालाई ६ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा ११ जोडीले भाग लिएका थिए । प्रतियोगिताको निर्णायक मण्डलका संयोजक डा. मुक्तसिंह लामा र सदस्यहरु लालबहादुर योन्जन र पासाङ मोक्तान रहेका थिए। समापन समारोहका प्रमुख अतिथि पूर्वराजदुत डा. गणेश योञ्जनले फापारे गीतलाई जगेर्ना गर्नुमा यस्ता कार्यक्रमले ठूलो सहयोग गर्ने बताए। सबैले आ-आफ्नो पहिचानको खोजिरहेका बेला आफूहरुमा भएको मौलिक गीतले तामाङको जीवन र दर्शन बोकेकाले यसको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी रहेको बताए।
निर्णायक संयोजक एवं मानवशास्त्री डा. मुक्तसिंह लामाले गायनशैली, गीतको सिलसिला, आलोपालो प्रक्रिया, प्रस्तुति शैली, हाउभाउका आधारमा मूल्यांकन गरिएको प्रातियोगिताले तामाङको मौलिक साहित्य जर्गेनामा ठूलो भुमिका खेल्ने काम भएको उल्लेख गरे। न्हाङखोरका अध्यक्ष एवं भाषाविद् अमृत योन्जन तामाङले न्हाङखोरले यस्तै मौलिक गीत, पुस्तकलगायतको प्रकाशन तथा प्रसारण गर्दै आएको उल्लेख गरे। गीतसंगितका क्षेत्रमा लागेकाहरुले यस्ता कार्यक्रम गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए।