दक्षिण भारतीय निर्देशक एवं अभिनेता के विश्वनाथको निधन

दक्षिण भारतीय निर्देशक एवं अभिनेता के विश्वनाथको निधन भएको छ ।
लामो समयदेखि बिरामी भएका ९२ वर्षका विश्वनाथको बिहीबार राति निधन भएको हो । उनको हैदराबादको एक निजी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार विश्वनाथको शव अस्पतालबाट शुक्रबार बिहान करिब १ बजे जुबली हिल्सस्थित उनको निवासमा ल्याइएको छ ।
विश्वनाथलाई सन् २०१७ मा दादासाहेब फाल्के अवार्डबाट सम्मानित गरिएको थियो । यो भारतीय फिल्म उद्योगको सर्वोच्च पुरस्कार हो । यसबाहेक उनले ६ वटा राष्ट्रिय फिल्मफेयर अवार्ड, ८ राज्य नन्दी अवार्ड र १० फिल्मफेयर अवार्ड पाएका थिए ।
विश्वनाथको जन्म १९ फेब्रुअरी १९३० मा आन्ध्र प्रदेशको गुंटुर जिल्लाको रेपल्लेमा भएको थियो। उनलाई कला तपस्वी पनि भनिन्छ । उनले हिन्दू कलेज गुंटुरमा प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । त्यसपछि उनले आन्ध्र विश्वविद्यालयबाट विज्ञानमा स्नातक गरेका थिए । आफ्नो पढाइ पूरा गरेपछि, विश्वनाथले चेन्नईको वौहिनी स्टुडियोमा ध्वनि कलाकारको रूपमा आफ्नो फिल्म करियर सुरू गरेका थिए ।
विश्वनाथले सन् १९५१ मा तेलुगु फिल्म ‘पथल भैरवी’मा सहायक निर्देशकको रूपमा काम गरेका थिए । त्यसपछि उनले सन् १९६५ मा फिल्म ‘आत्मा गोवरवम्’ निर्देशन गरे, जसले राज्य नन्दी पुरस्कार जितेको थियो ।
विश्वनाथले सन् २०१० मा अन्तिम फिल्म ‘शुभप्रधाम’ निर्देशन गरेका थिए । ७१ वर्षको करियरमा उनले ५५ फिल्ममा निर्देशक र ४३ चलचित्रमा अभिनेताको रूपमा काम गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close