कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पाँच दिनभित्र सञ्चालनमा आउने

हावाहुरीका कारण क्षति पुगेको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । आयोजना कार्यालयले अबको पाँच दिनभित्र प्रसारण लाइन नियमित सञ्चालनमा आउने जनाएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानी क्षेत्रमा गत वैशाख २३ गते आएको हावाहुरीका कारण रुख ढलेर प्रसारण लाइनका दुई वटा टावरमा क्षति पुगेको थियो । त्यसपछि वैशाख २६ गते ढलेको रुख हटाउने क्रममा ती दुवै टावर थप प्रभावित भएका थिए ।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आयोजनाले तत्काल मर्मत कार्य अघि बढाएको थियो । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी विद्युत प्रसारण लाइन निर्माण आयोजनाका अनुसार हाल दुवै टावरको फाउण्डेशन निर्माण तथा टावर जडानको काम सम्पन्न भइसकेको छ ।

प्रसारण लाइन पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिएको आयोजनाले जनाएको छ । बाँकी रहेका प्राविधिक कार्य पूरा भएपछि लाइनबाट नियमित रूपमा विद्युत प्रवाह गरिनेछ ।
कर्णाली प्रदेशमा विद्युत आपूर्तिको दीर्घकालीन सुधारका लागि महत्वपूर्ण मानिएको यो प्रसारण लाइन अवरुद्ध हुँदा विद्युत आपूर्तिमा समस्या देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close