पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

कोरोना संक्रमणको कारण देखाउँदै २०७६ सालमा चीनले बन्द गरेको नाका पाँच वर्षपछि खुल्ने भएको छ । नाका खुल्ने भए सँगै जिल्ला प्रशासन कार्यालय बझाङले अनुमति पत्र जारी गर्ने तयारी गरेको छ ।

 

 

‘जुलाइ र अगस्त दुइ महिनाको लागि नाका खुल्ने जानकारी आएको छ,’ प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले भने, ‘मन्त्रालयबाट अनुमति पत्र जारी गर्नका लागि सकारात्मक संकेत दिएपछि हामीले अनुमति पत्र छपाइको लागि पठाइसकेका छौं ।’ उनले केही दिन भित्र सीमा प्रवेश अनुमति पत्र वितरण गर्न सुरु गरिने बताए ।

चीनको सीमावर्ती बजार ताक्लाकोट छिर्ने उरै भञ्जाङ नाका बन्द भएपछि यहाँका स्थानीयको व्यापार व्यवसाय र परम्परागत सम्बन्ध प्रभावित भएका छन् । नाका बन्द हुँदा तिब्वतमा पर्ने मानसरोवर कैलाशसँग सम्बन्धित धार्मिक गतिविधि समेत ठप्प छन् । यहाँका धेरै जसो स्थानीय मठ मन्दिरमा मानसरोवरको जल चढाएपछि मात्रै पूजा गर्ने परम्परा भएका कारण थुप्रै गाउँको पूजाआजा पनि रोकिएको छ ।

तिब्बती क्षेत्रमा बझाङका विभिन्न पालिकाले बर्खायाममा भेडाबाख्रा, याक र चौंरी चरिरचन गराउँदै आएकोमा नाका बन्द भएपछि चरिचरन समेत बन्द भएको छ । यो नाका खोल्न पहल गरिदिनका लागि बझाङका स्थानीय, जनप्रतिनिधिहरू पटक पटक काठमाडौं पुगेर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै आएका थिए । ‘चीनले नाका बन्द गर्दा हामीलाई धेरै समस्या छ । अब खुल्छ भन्ने कुरो आएको छ,’ साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङले भनिन्, ‘नाका खुल्ने खबर पाएपछि यहाँका स्थानीयहरू अनुमति पत्रको सिफारिस लिन पालिकामा आउन थालेका छन ।’

उनले पालिकाले सीमा प्रवेश अनुमति पत्रका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस दिन थालिसकेको बताइन् । साइपाल गाउँपालिकाबाट थुप्रै युवाहरू मौसमी रोजगारीका लागि ताक्लाकोट पुग्ने गरेको बताउँदै उनले नाका खुलेपछि रोजगारको अवसर पाउने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close