
सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा नेपाल राष्ट्र बैंक सुर्खेतका प्रमुख बाबुराम कोइरालाको बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कर्णालीको वित्तीय क्षेत्र, बैंकिङ नीति र निजी क्षेत्रबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने कोइरालाको योगदानको सम्मानस्वरूप संघले औपचारिकरूपमा बिदाइ कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलज्यूले कोइरालाको कर्णालीको वित्तीय विकासमा पुर्याएको योगदान, बैंक र निजी क्षेत्रबीचको सुमधुर सम्बन्ध निर्माणमा खेल्नुभएको भूमिका, तथा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसँगको समन्वय सुदृढ गर्नुभएको प्रयासको विशेष चर्चा गर्नुभयो।
नेपाल राष्ट्र बैंक सुर्खेतका प्रमुख बाबुराम कोइरालाज्यूले आफ्नो मन्तव्य राख्दै सुर्खेत उद्योग वाणिज्य संघ देशभरकै संघहरूमध्ये निजी क्षेत्रका सवालमा प्रभावकारी पैरवी गर्ने संघहरूमध्ये एक रहेको बताउनुभयो। साथै, अध्यक्ष कंडेलको नेतृत्वमा संघले निजी क्षेत्रका अधिकार, नीति निर्माण तथा बैंकिङ सहजीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा संघको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका सहभागीहरूले कोइरालाको कुशल नेतृत्व, निजी क्षेत्रसँगको उत्कृष्ट समन्वय, तथा कर्णालीको बैंकिङ प्रणालीलाई थप व्यवस्थित बनाउन गरेका प्रयासहरू प्रति आभार व्यक्त गर्दै उहाँको उज्ज्वल भविष्यको कामना गरेका थिए।
यो कार्यक्रमले नेपाल राष्ट्र बैंक र निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने मात्र नभई, प्रदेशस्तरीय बैंकिङ नीति तथा वित्तीय समन्वयलाई नयाँ आयाम दिने विश्वास गरिएको छ ।





