
भेरीगंगा नगरपालिकामा मानवअधिकार रक्षकहरूका लागि दुई दिने सुरक्षा तथा संरक्षणसम्बन्धी तालिम सम्पन्न भएको छ। सहकर्मी समाज र दलित महिला संघको संयुक्त आयोजनामा तथा सहकर्मी समाज/एक्सन एड नेपालको आर्थिक सहयोगमा आयोजित तालिम चैत ७ र ८ गते सञ्चालन गरिएको हो।
स्थानीय अधिकार कार्यक्रम (LRP) अन्तर्गत आयोजित तालिममा नगरपालिकाका विभिन्न वडाबाट २८ जना मानवअधिकार रक्षकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। तालिमको उद्देश्य सहभागीहरूलाई भौतिक, भावनात्मक तथा डिजिटल जोखिम सामना गर्न सक्षम बनाउनुका साथै कानुनी र सुरक्षा उपायबारे उनीहरूको ज्ञान र सीप अभिवृद्धि गर्नु रहेको बताइएको छ।
तालिममा “मानवअधिकार के हो?”, “उल्लङ्घन के हो?” र “मानवअधिकार रक्षक को हुन्?” जस्ता आधारभूत विषयमा छलफल गरिएको थियो। साथै, सहभागीहरूले आफ्नो कार्यक्षेत्रमा भोग्ने चुनौतीहरू—धम्की, सामाजिक बहिष्कार, कानुनी जटिलता र डिजिटल जोखिम—बारे अनुभव साटासाट गरेका थिए। उनीहरूले जोखिमको पहिचान, मूल्याङ्कन र नक्साङ्कनसमेत गरेका छन्।
कार्यक्रममा सन् १९९८ को मानवअधिकार रक्षकसम्बन्धी घोषणापत्र, डिजिटल सुरक्षा, कानुनी संयन्त्र तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनी ढाँचाबारे जानकारी प्रदान गरिएको थियो। साथै, मानवअधिकारसम्बन्धी महासन्धि, राज्यको दायित्व र सुरक्षा संयन्त्रबारे पनि प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
तालिमले हिंसा, विभेद र अन्यायका घटनाको विश्लेषण गर्दै तिनका मूल कारण पहिचान गर्ने सीप विकासमा जोड दिएको छ। यसले सहभागीहरूलाई समुदायस्तरका घटनाहरूलाई प्रभावकारी रूपमा बुझ्न, प्रतिकार गर्न र प्रतिवेदन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तालिमको अन्त्यमा सहभागीहरूले आगामी ६ महिनाका लागि समुदायस्तरीय कार्ययोजना तयार गरेका छन्। योजनामा सचेतना कार्यक्रम सञ्चालन, हिंसा तथा विभेदका घटनाको निगरानी र अभिलेखीकरण, सरोकारवालासँग समन्वय तथा सुरक्षित उजुरी र पैरवी प्रक्रिया सुदृढ गर्ने कार्यहरू समावेश छन्।
कार्यक्रमको सहजीकरण नारायण बि. के. ले गरेका थिए। सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्। स्थानीय तहमा मानवअधिकार संरक्षणका प्रयासलाई थप प्रभावकारी बनाउन यस्ता तालिम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।






