सुर्खेतमा पहिलोपटक यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलोपटक राष्ट्रियस्तरको यू–१९ महिला टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। आगामी सन् २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोली छनोटको आधारस्वरूप प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगितामा सातै प्रदेशका महिला टोलीहरूको सहभागिता रहने जानकारी दिनुभयो। उहाँले कर्णालीमा महिला क्रिकेटको इतिहासमै पहिलो राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको उल्लेख गर्दै यसलाई प्रदेशका लागि ऐतिहासिक अवसरको रूपमा लिनुपर्ने बताउनुभयो।

गत वर्ष सुर्खेतमा यू–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि कर्णालीले दोस्रोपटक राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको खड्काको भनाइ छ। यसले कर्णालीको व्यवस्थापकीय क्षमता र खेलकुद सम्भावनालाई राष्ट्रिय स्तरमा थप स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगिताले देशभरका प्रतिभावान महिला क्रिकेटरलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोली छनोटको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ। साथै आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समेत यसले योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

प्रतियोगिताअन्तर्गत कुल २२ खेल सञ्चालन हुनेछन्। खेलहरू वीरेन्द्रनगरस्थित कालुङचोक मैदान र कर्णाली रंगशाला नजिकको मैदानमा खेलाइनेछन्। खेल मैदान, आवास, यातायात, सुरक्षा तथा स्वास्थ्य सेवासम्बन्धी सम्पूर्ण व्यवस्थापन अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, ‘प्लेयर अफ द सिरिज’ लाई ४० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ लाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।

क्यानका कोषाध्यक्ष खड्काले राष्ट्रिय गौरवसँग जोडिएको यस प्रतियोगितालाई सफल बनाउन सञ्चारकर्मी, खेलप्रेमी, नागरिक समाज तथा सम्पूर्ण सरोकारवालासँग सहयोग र सकारात्मक प्रचारप्रसारका लागि आग्रह गर्नुभएको छ। आयोजकले प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्‍याउने कर्णाली प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, प्रायोजक तथा सञ्चार माध्यमप्रति आभारसमेत व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close