
आज (सोमबार) बसेको मन्त्री परिषदको बैठकले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ ।
सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाउदै आज बसेको मन्त्रिपरिषद् बैठकले भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको हो ।
समस्या समाधानका लागि भन्दै कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिंदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सम्बन्ध सबैलाई आह्वान गरेको जानकारी दिनुभयो ।
ब्रिटिस गोर्खाका भूतपूर्व सैनिकहरुले बेलायती सररकारसँग आफूँहरुलाई पनि बेलायती सेनाझै समान सरसुविधा र व्यवहार गर्नका लागि माग गर्दै आएका छन् ।
बेलायती नागरिकहरु सेनामा हुदाँ पाउने सुविधा र नेपाली ब्रिटिस गोर्खा सैनिकहरुले पाउने सेवामा निकै अन्तर रहेको छ । यसलाई समान र सम्मानजनक बनाउनुपर्ने माग उनीहरुले राखेका छन् । भूतपूर्व ब्रिटिस गोर्खाहरुले समान बेलायती नागरिकहरुझै सेनाका लागि पाउने पेन्सन समान हुनुपर्ने माग राखेका हुन् ।
बेलायती भेटरन सेनाले पेन्सनस्वरुप १ हजार २ पाउण्ड पाउदाँ ६३ बर्षीय भूतपूर्व ब्रिटिस गोर्खा भूतपूर्व सैनिक ज्ञानबहादुर राईले आफूँले ३ सय ५० पाउण्ड मात्रै पेन्सन पाउने बताउनुहुन्छ ।
नेपालीहरुले बेलायतमा ब्रिटिस गोर्खा सैनिकका हैसियतले विगत २ सय बर्षदेखि सेवा दिदै आएका छन् ।