
नेकपा एकीकृत समाजवादी को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।
शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव वेदुराम भुषालले सांगठनिक प्रतिवेदन पेस गरेका थिए।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाई छलफल सुरू गरिएको छ।
उक्त बैठकमा सहभागी केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहन रूपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने छ।
प्रतिवेदनमा सरकारको कार्यशैली मूल्यांकन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।
पार्टीले अन्य राजनीतिक दललाई हेर्ने दृष्टिकोण संसदमा पार्टीको थप प्रभावकारी भूमिकाको विश्लेषण तथा गरिएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि पहिलो पटक ललितपुरको बालकुमारीमा बसेको बैठकमा विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका ती समूहका निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिनेछ।
संगठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग र मोर्चा संगठनलाई निर्धारित समय सीमाभित्र अद्यावधिक गर्नेलगायत विषयमा आज छलफल हुनेछ।