तीन वर्षमा तीन हजारभन्दा बढी अपाङ्गता भएका बालबालिकाले पाए स्वास्थ्य तथा पुनःस्थापना सेवा

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, सुर्खेतले पछिल्लो तीन वर्षको अवधिमा तीन हजारभन्दा बढी अपाङ्गता भएका बालबालिका तथा व्यक्तिलाई स्वास्थ्य तथा पुनःस्थापना सेवा प्रदान गरेको जनाएको छ।

विकलाङ्ग मित्र समूह र अपाङ्ग बाल अस्पताल बनेपाको सहयोगमा सञ्चालित केन्द्रले कर्णाली प्रदेशका १० जिल्लासहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सेवाग्राहीलाई समेत उपचार तथा पुनःस्थापना सेवा उपलब्ध गराउँदै आएको छ।

केन्द्रका प्रमुख होमराज केसीका अनुसार गत महिना विभिन्न जिल्लामा सञ्चालन गरिएका स्वास्थ्य शिविरमार्फत मात्रै ८ सय ४३ जना बालबालिकाको परीक्षण तथा अपाङ्गताको पहिचान गरिएको छ।

केन्द्रले खुट्टा, हात, हड्डी, जोर्नी, स्नायु तथा मेरुदण्डसम्बन्धी समस्या भएका बालबालिकाको विशेष परीक्षण र उपचार गर्दै आएको जनाएको छ। जन्मजात खुट्टाको विकृति, पोलियोका कारण हुने शारीरिक समस्या, जोर्नी तथा घुँडाको विकृति, मेरुदण्ड तथा मांसपेशीसम्बन्धी समस्या भएका बालबालिकालाई लक्षित गरी सेवा प्रदान भइरहेको केन्द्रले जनाएको छ।

यस्तै, ह्वीलचेयर, क्रच, स्प्लिन्ट, क्यालिपर, प्लास्टर तथा मोबिलाइजरजस्ता सहायक सामग्री निःशुल्क वितरण गरिनुका साथै आवश्यक परे थप उपचारका लागि अपाङ्ग बाल अस्पताल बनेपामा रिफर गर्ने व्यवस्था समेत रहेको प्रमुख केसीले जानकारी दिनुभयो।

उहाँका अनुसार समयमै उपचार र पुनःस्थापनाको पहुँच नपाउँदा धेरै बालबालिका तथा व्यक्तिको अवस्था जटिल बन्दै जाने भएकाले निःशुल्क सेवा विस्तारलाई प्राथमिकता दिइएको छ।

यसैबीच, केन्द्रले विश्व क्लबफुट दिवस तथा स्थापना दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका बालबालिका तथा व्यक्तिको जीवनस्तर सुधारमा केन्द्रले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सेवालाई अझ प्रभावकारी, पहुँचयोग्य र दिगो बनाउन सुझाव दिएका छन्।

सेवाग्राही तथा अभिभावकहरूले केन्द्रकै सहयोगमा आफ्ना बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन आएको बताएका छन्। यसअघि विभिन्न स्थानमा उपचार गराउँदा पनि सुधार नआएको अवस्थामा अहिले निःशुल्क रूपमा गुणस्तरीय सेवा पाउन सकेकोमा उनीहरूले खुसी व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्रालयका शैक्षिक विकास तथा सामाजिक विकास महाशाखाका उपसचिव सुवर्ण खड्काले अपाङ्गता भएका बालबालिकाको समयमै पहिचान, उपचार र पुनःस्थापनाले उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले सरकारी तथा गैरसरकारी निकायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै यस्ता सेवाहरू समुदायस्तरसम्म विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाका प्रशासन शाखा प्रमुख टंक लामिछानेले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक र सहज जीवनयापनको वातावरण सिर्जना गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको बताउनुभयो।

उहाँले पुनःस्थापना केन्द्रले स्वास्थ्य सेवा मात्र नभई आशा र आत्मविश्वास प्रदान गर्ने काम गरिरहेको उल्लेख गर्दै स्थानीय तहबाट आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले सञ्चालन गर्दै आएको स्वास्थ्य तथा पुनःस्थापना सेवालाई आगामी दिनमा अझ प्रभावकारी, व्यवस्थित र दिगो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close