
राजु कोइराला
जेठ १३, नर्थ क्यारोलाइना, अमेरिका ।
चितवन घर भइ हाल अमेरिकाको नर्थ क्यारोलाइना राज्यको RTP क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको आयोजनामा हुने बृहत बनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l हरेक बर्ष एक पटक गरिदै आएको पिकनक कार्यक्रम यो पटकसँगै तेस्रो पटक आयोजना गरिन लागिएको हो ।”Chitwane in RTP, Meet & Greet Program” नाम दिइएको उक्त बनभोजमा चितवन मात्र नभइ अन्य जिल्ला घर भएर यही एरियामा बसोबास गर्ने नेपालीहरुको लागि समेत आगमन खुल्ला गरिएको आयोजकले जनाएको छ l
आगामी जुन ९, २०२४ मा हुने उक्त बनभोज कार्यक्रम बिहान ११ बजेबाट सुरु भएर साँझ ६ बजे सम्म जारी रहने छ l साथै उक्त बनभोज स्थलको ठेगाना 1100 Norwell Blvd, Cary, NC 27513 रहेको आयोजक टिमका एक सदस्य प्रकाश ढुंगानाले बताउनु भयो । बनभोज कार्यक्रममा हाल सम्म उल्लेख्य संख्यामा नाम दर्ता भैसकेको र इच्छुक उत्साह देख्दा यो संख्या अझै बढ्ने आयोजकले अनुमान गरेको छ l हाललाई बनभोज स्थल, सहभागि ब्यबस्थापन र उपस्थितीको संख्यालाई मध्यनजर राख्दै आगामी जुन ३, देखी नयां नाम दर्ता बन्द गरिने आयोजकले जनाएको छ l साथै यसपालिको बनभोज अघिल्लो बर्षहरुको भन्दा बृहत रहने आयोजकले जनाएको छ l बनभोजमा बालबालिका, यूवा र प्रौढहरु केन्द्रित खेलकुद तथा मनोरन्जनका कार्यक्रमहरु राखिएको र उक्त कार्यक्रमका लागि थुप्रै भोलीन्टीयर्स समेत खटाइसकिएको बताइएको छ l
बिदेशको ब्यस्त दैनिकिलाई एकदिन भएपनि थाती राखेर खुला मैदानमा एकआपसमामा भेटघाट भएर सुख-दु:ख साटासाट गर्ने हेतुले र बिशेषगरी नेपालबाट छोरा-बुहारी या छोरी ज्वाइँ नाती -नातिना भेट्न आउनु भएका बुवा -आमाहरुलाई एक दिन भएपनि अभिभाबक मिलन गराउने हेतुले समेत कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ l साथै एउटै शहरमा बसेर पनि आपसी चिनजान भएका बर्षौदेखी भेट हुने अबसर नपाएका नेपालमा एकै जिल्ला या छिमेकी जिल्लामा घर भएका तर आ-आफ्नो ब्यस्तताले गर्दा लामो समय देखी पुन भेट्घाट हुन नपाएका साथीभाइहरुका लागि समेत पुनर्मिलन गर्ने गराउने उपयुक्त संगमको रुपमा यो बनभोजलाई हेरिएको आयोजक मध्येका एक बिमल अधिकारीले बताउनु भयो ।






