कोरोनाको पूर्व तयारीमा लाग्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत, पुस २५ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको संभावित तेस्रो लहर रोक्नका लागि पूर्व तयारीमा लाग्न सरोकारवालाहरूलाई निर्देशन दिनु भएको छ । मुख्यमन्त्री शाहीले जनशक्ति ब्यवस्थापनमा सरकारले तयारी गरिरहेको बताउँदै स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई कोरोना महामारीको पूर्व तयारीमा जुट्न निर्देशन दिनु भएको छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चुमा ५० बेडको सरूवा रोग अस्पताल निर्माणका लागि प्रक्रिया सुरू गरिएको बताउनु भयो ।
कोरोनाको संभावित तेस्रो लहरको सामना गर्नका लागि सरोकारवाला सबै निकाय तयारी अवस्थामा रहन निर्देशन समेत दिनु भएको छ । आईतवार मेहलकुना अस्पताल र छिन्चुको संक्रमण रोग अस्पताल निर्माण हुने स्थानको निरीक्षण गर्दै मुख्यमन्त्री शाहीले तीन तहका सरकारबीच सहकार्य र समन्वय गरेर संभावित महामारीलाई रोक्न पहल गर्नुपर्ने बताउनु भएको हो ।
मुख्यमन्त्री शाहीले सुर्खेतसहित सल्यान, जाजरकोट, रूकुम, डोल्पामा अक्सिजन अभाव हुन नदिनका लागि मेहलकुनामा प्रदेशकै ठूलो अक्सिजन प्लान्ट स्थापना गरिएको समेत बताउनु भएको छ । मुख्यमन्त्री शाहीले अब कर्णालीमा अक्सिजन अभाव नहुने बताउनु भयो ।

सुर्खेतसहित रूकुम, दैलेख, कालिकोटलगायतका जिल्लामा अक्सिजन प्लान्ट स्थापना गरिएका छन् ।
मुख्यमन्त्री शाहीले कर्णाली भित्रिने मुख्य नाकाहरूमा कोरोना परीक्षण गरेर मात्रै प्रदेशभित्र भित्र्याईने बताउनु भयो । सर्खेतको कुईने अस्पताल सन्चालनमा रहेकोे र बबईबाट आउने कर्णालीबासीका लागि छिन्चुमा क्वारेन्टाइन बनाउँदै गरेको उहाँले बताउनु भयो । सल्यानको कपुरकोट नाकामा पनि आवश्यक तयारी थालिएको छ ।
गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले कर्णालीको आधा जनसंख्यालाई सेवा दिईरहेको मेहलकुना अस्पताललाई जनशक्ति, पूर्वाधार र ओैषधिजन्य उपकरणले सम्पन्न बनाईनुपर्ने बताउनु भयो । उहाले कोरोनाको तेस्रो लहरको सामना गर्नका लागि अहिल्यैदेखि तयारी अवस्थामा लाग्नुपर्ने बताउनु भयो । मेयर पुनले अस्पताल सन्चालन ब्यवस्थापन समितिलाई पूर्णता दिन प्रदेश सरकारसँग माग समेत गर्नु भएको छ । । मेयर पुनले कर्णालीकै ठूलो अक्सिजन प्लान्ट गुर्भाकोटमा स्थापना प्रक्रियामा रहेको बताउँदै कोरोना महामारीमा यसले ठूलो सहयोग पुर्याउने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close