Murti

वीरेन्द्रनगरका जोखिमयुक्त क्षेत्रका १३ स्थानमा हात धुने स्टेसन निर्माण हुदै

सुर्खेत २१, भाद्र ।
पानीको धारालाई हातले नछोएरै साबुन पानीले मज्जाका साथ हात धुन मिल्नेगरी वीरेन्द्रनगर भित्रका अति संवेदनशिल क्षेत्रका १३ ठाउँमा हात धुने स्टेसन (कन्ट्याक्टलेस ह्याण्डवासिङ स्टेशन) स्थापना गर्न थालिएको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला यसबाट बच्न साबुन पानीले हात धुने उपायलाई व्यवहारमा उतार्न नयाँ प्रविधिमार्फत हात धुने स्टेशन स्थापना गर्न लागिएको हो ।
यी स्टेशनमा भुईँमा रहेको संयन्त्रलाई खुट्टाले दबाएपछि धाराको टुटीबाट पानी झर्न थाल्छ र दबाउन छोडेपछि पानी आफैं बन्द हुन्छ । कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले अक्सफामको सहयोगमा वातावरण सुधार समाजले नछोइकन हात धुन मिल्ने प्रविधि ल्याएको हो ।
कन्ट्याक्टलेस ह्याण्डवासिङ स्टेशन वीरेन्द्रनगर जुम्लारोडमा रहेको राष्ट्रिय बाणिज्य वैंकमा स्थापना गरेर यसको शुभारम्भ गरिएको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोति कंडेल र वातावरण सुधार समाजकी अध्यक्ष नेत्रा रेग्मीले एक समारोह बीच स्टेशनको उद्घाटन गर्नु भयो ।
वडा अध्यक्ष कंडेलले कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले यस किसिमको नयाँ प्रविधि ल्याएर विभिन्न स्थानमा स्थापना गर्न लागेकोमा खुसी व्यक्त गर्दै वातावरण सुधार समाजसँग भविश्यमा पनि सहकार्य गर्ने बताउनु भयाे ।
शुभारम्भ कार्यक्रममा वातावरण सुुधार समाजकी अध्यक्ष रेग्मीले कोरोना भाइरसबाट लड्ने दुई तरिकामध्ये एउटा नियमित साबुन पानीले हात धुनु रहेको बताउँदै धारालाई नछोएरै हात धुने प्रविधि सहितका हात धुने स्टेशन स्थापनाले कोरोना भाइरस संक्रमण कम गर्न सहयोग पुग्ने बताउनु भयाे ।
शहर बजारमा कतिपय मानिसले हात धुने ठाउँको अभाव र साबुन भए पनि पानीकै अभावमा हात धुन नपाइने अवस्थामा वातावरण सुधार समाजले स्थापना गरेको हात धुने स्थानले लक्षित वर्गलाई सहयोग पुुग्ने समाजका निर्देशक तेज प्रसाद पौडेलले बताउनु भयो । उहाँले कोरोनाबाट बच्न मात्र नभई अन्य विभिन्न रोगबाट बच्न साबुन पानीले नियमित हात धुनुपर्नेमा जोड दिनुुभयो । निर्देशक पौडेलका अनुसार स्टेशनको दिगोपनका लागि वडा कार्यालय, टोल विकास संस्था र वातावरण सुधार समाजसँगको त्रिपक्षिय सम्झौता गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १, २, ३, ४, ६, ८, १० र १२ का जोखिमयुक्त क्षेत्र, भिडभाड हुने ठाउँ र सार्वजनीक सेवा प्रवाहको क्षेत्रका विभिन्न १३ स्थानमा हात धुुने स्टेशन निर्माण गरिने स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाका संयोजक हिमाल राजीले बताउनु भयो । परियोजनाले कोरोना भाइरसबाट बच्न र अन्य सरुवा रोगबाट बच्नका लागि कार्यक्रम लागु गरेको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close