सुर्खेत १, जेठ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले कर्णालीको पूर्वाधार विकासमा भेरी र कर्णाली करिडोरमा सडक निर्माणका लागि छुट्टै सरचना आवश्यक रहेको बताउनु भएको छ । सुर्खेतमा संचारकर्मीसँग आगामी नीति कार्यक्रमका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्री कंडेलले सुर्खेतदेखि हुम्ला, सुर्खेतदेखि डोल्पा र कालिकोटदेखि मुगु नाग्चेनांलासम्मको सडकलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी छुट्टै संरचना सहितको कार्यालय मार्फत छिटो काम अगाडि बढाउन आवश्यक रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री कडेलले सडक तथा हवाई पहुँचविना कर्णालीको समृद्धि र विकास सम्भव नरहेको बताउँदै दक्षिणको छिमेकी भारतसँग कर्णालीको सीमा नजोडिएकाले चीनसँग जोडिने यि दुई सडक निर्माणलाई संघ सरकारले समेत उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँले भेरी र कर्णाली करिडोर कर्णालीको ‘लाइफलाइन’ भएकाले यसलाई प्राथमिकता दिन संघ सरकारसँग पनि समन्वय भएको बताउनु भयो । हाल अन्य कार्यालय मार्फत काम हुदाँ न्युन प्राथमिकतामा पर्ने भन्दै मुख्यमन्त्री कंडेलले छुट्टै संरचना मार्फत छिटो काम गर्न संघ सरकारले जोड दिनुपर्ने बताउनु भयो ।





