दुई छोरा पहिराले पुरिएपछि दमाई परिवार शोकमा

दार्चुला । घरको सहाराका रूपमा रहेका दुई छोराको मृत्युपछि लेकम गाउँपालिका–५ का ५८ वर्षीय सानो दमाईको परिवार बिचल्लीमा परेको छ । यही साउन ६ गते मालिकार्जुन गाउँपालिका–८ मा पहिरामा पुरिएर उनका दुई छोरा २४ वर्षीय अर्जुन र १८ वर्षीय मिलनको मृत्यु भएको थियो । छोराको मृत्युपछि दमाई परिवार अहिले बिचल्लीमा छ ।

घरको ऋण तिर्न भन्दै दिदी घरमा सिलाइ गर्न उनीहरु शङ्करपुर पस्ती गएका थिए तर उनीहरुले काम गर्ने ठाउँमा पहिरो आएपछि दुवै जना त्यही पहिरामा पुरिएर ज्यान गुमाए । उनीहरुको घर बनाउँदा परेको रु दुई लाख ५० हजार ऋण तिर्न बाँकी थियो । जनता आवास कार्यक्रमले घर नभएका विपन्न दलित परिवारलाई घर बनाउन शुरु गरेको थियो । जनता आवास कार्यक्रममार्फत आएको रु एक लाख ८० हजारबाट घर निर्माण हुन सकेन । पूरै निर्माण गर्न गाउँबाट ऋण निकाले ।

घरको ऋण तिर्ने चिन्ता भएपछि उनीहरु सिलाइ व्यवसाय गर्न मालिकार्जुन गाउँपालिकाको पस्ती गएका थिए तर त्यही पहिराले घरको ऋण तिर्ने सपना अधुरै रह्यो । “छोराको पहिरामा पुरिएर मृत्यु भएको खबरलगत्तै उनीहरुकी आमा ५७ वर्षीया भुरा दमाईले मर्न खोज्नुभयो । आफँैले ढुङ्गाले हानेर टाउको फुटाउनुभयो । जेनतेन उनलाई बचाउन सकिएको छ”, स्थानीयवासी अनिल परिवारले भने, “मान्छेले देखेपछि उनलाई जोगाइहाले ।”

स्व अर्जुनकी २२ वर्षीया श्रीमती कलावती अझै अचेत अवस्थामा हुन् । घरमा न कोही बोल्छन्, न हाँस्न सक्छन् । मानसिकरूपमा कमजोर हुँदै गएका छन् । कलावतीका दुई छोरी साढे चार वर्षकी प्रियङ्का र दुई वर्षकी मौसमी छन् । घरमा सानो दमाईकी कान्छी छोरी १२ वर्षीया सञ्जु छिन् । घरको सहारा तथा कमाउने मान्छे नभएपछि दमाई परिवार अहिले कसरी बाँच्ने भन्ने चिन्तामा छ । “घरमा साहस दिने मान्छे नै भएनन्”, अनिलले भने, “पूरै परिवार अचेत जस्तै छ । बूढेसकाल लागेका बूढाबूढीले नातिनीहरु पाल्नुपर्ने अवस्था छ ।”

सानोकी छोरी कक्षा ७ मा पढ्दैछिन् । नातिनीहरु पनि पढ्ने उमेर हुँदैछ तर पढाउने कसरी, घरको ऋण कसरी तिर्ने चिन्ताले पूरै परिवार शोकमा डुबेको छ । “घरमा पुगेपछि के खाने भन्ने छ, उनीहरुको दयनीय अवस्था देखेरै गाउँका युवाबाट सहयोग सङ्कलन अभियान चलाएका छौँ”, अनिलले भने । अनिलका अनुसार ४०÷४५ हजार रुपैयाँ सङ्कलन भएको छ । युट्युबमार्फत अभियान चालिएको छ । अहिलेसम्म स्थानीय सरकारले उनीहरुलाई सहयोग गर्नेतर्फ चासो नदिएको उनको गुनासो छ । “घरमा कमाउने मान्छे नभएपछिको पीडा देखेका छौँ, मालिकार्जुन गाउँपालिकाले किरिया खर्च उपलब्ध गरायो तर लेकम गाउँपालिकाले दमाई परिवारलाई सहयोग गरेको छैन”, उनले भने ।

अर्जुनकी आमा भुरा र श्रीमती कलावतीको अवस्था नाजुक बन्दै गएको छ । घरमा सानो दमाई मात्रै मान्छेसँग बोल्छन् । पूरै घर अन्धकार भएजस्तो देखिन्छ । “छोरीले बुबा खोज्छन्”, सानो दमाईले भने, “कसलाई बुबा भन्नु ? बुहारी बोल्दिनन्, मानसिक अवस्था नराम्रो हुँदै गएको छ । घरमा सम्झाउने कसले ? मेरै श्रीमती ‘छोरा मरे, कोख रित्तो भयो’ भन्दै मर्न खोजी । बल्लतल्ल बचाइयो ।” घरमा परेको अप्ठ्याराका कारण काम गर्न साहस नआएको उनले बताए । “ऋण तिर्ने कसरी, परिवारको खर्च जोहो केले गर्नु ?” उनले भने, “कमाउने दुवै छोरा मरेर गइहाले, कसका लागि हामीले जिउने ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close