हिन्दुराष्ट्र पुनःस्थापना, राजसंस्थासहितको लोकतन्त्र र प्रदेश खारेजीका एजेन्डा छाडेका छैनौंः तामाङ

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले आफ्नो पार्टीका मन्त्रीहरुबाट सकारात्मक कामको सुरुवात भएको दाबी गरेका छन् ।
‘केही नयाँ काम गरौं भन्ने अठोटले नै हामी सरकारमा गएका हौं । हाम्रा मन्त्रीहरुले केही राम्रा कामको सुरुवात गरिसकेका छन् । राजेन्द्र लिङ्देनले बंगलादेशलाई बिजुली बेच्ने सम्झौता गर्नुभएको छ । विक्रम पाण्डे पनि आफ्नो योजनामा व्यस्त हुनुहुन्छ । हनिमुन डे, ३ महिना नपुगीकन सरकारको के मूल्यांकन गर्ने ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै तामाङले भने ।
उनले सहरी विकास मन्त्रालयमा विक्रम पाण्डेलाई विज्ञका रूपमा पठाएको पनि बताए । तामाङले थपे, ‘जसलाई जुन विषयमा राम्रो ज्ञान छ, त्यो ठाउँमा मन्त्री पठाएका छौं । जो विज्ञ छ, त्यसलाई पठाएका छौं । विक्रम पाण्डे निर्माण व्यवसायी मात्र होइन, उद्योगी हो, सांसद हो । जुन सुरुवात गरिरहनुभएको छ, राम्रो गरिरहनुभएको छ । उहाँ मन्त्रालयमा ब्रिफिङ लिएपछि आफ्नो योजनामा व्यस्त हुनुहुन्छ । मलाई लाग्छ, उहाँ सफल हुनुहुन्छ ।’
उनले राप्रपा वर्तमान संविधानप्रति आलोचनात्मक समर्थन गर्दै आफ्नो एजेन्डामा अघि बढिरहेको दाबी गरे । तामाङले भने, ‘हो, हामीले यो संविधानमा सहकार्य गरेका हौं । यो संविधानमा हाम्रो पूर्ण सहमति छैन । यसलाई आलोचनात्मक समर्थन गर्दै आफ्ना एजेन्डा राखेर जनतासमक्ष गएका हौं । संविधानको धारा ७४ मा धारा १ बाहेक सबै धारा संशोधन गर्न सकिने भनेको छ । हामीले हिन्दु राष्ट्र पुनःस्थापना, राजसंस्थासहितको लोकतन्त्र र प्रदेश खारेजीका एजेन्डा छाडेका छैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close