थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौँ – दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो  ।

यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित ती भारतीय नागरिक र अरु तीन नेपाली शुक्रबार राति मोरङको टाँडीस्थित क्वारेन्टाइनस्थलमा लगिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close