‘तत्काल देशभर ‘लकडाउन’ हुँदैन’

साउन २२ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर ‘लकडाउन’ नहुने स्पष्ट पार्नुभएको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताउनुभएको हो ।

उहाँले त्रसित भएर पूर्णरुपमा यसअघिजस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैलेपनि नबनाउन आग्रह गर्नुभयो ।

मन्त्री डा. खतिवडाले अहिलेपनि दुई दर्जनभन्दा बढी स्थानीय तहहरुमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताउनुभयो ।

उहाँले कोरोना संक्रमणको जोखिम कम गर्न कडाइ गर्ने र आर्थिक गतिविधि सञ्चालन गर्न खुकुलो गर्नेगरी बीचको बाटो अपनाउने बताउनुभयो ।

यद्यपि, संक्रमणको जोखिम हेरेर ठाउँ–ठाउँहरूमा भने लकडाउन गर्न सकिने उहाँको भनाइ छ ।

मन्त्री डा. खतिवडाले सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने÷नगर्ने विषयमा उदार भएर निर्णय गर्ने स्थिति नरहेकोसमेत बताउनुभयो ।

अहिलेको स्थिति रहिरहेमा उदार बनेर सार्वजनिक यातायात खोल्ने, विद्यालय सञ्चालन गर्ने र उडान गरिहाल्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।

यस्तै, विदेशमा अलपत्र परेका व्यक्तिलाईमात्रै उद्धार गर्नेगरी हवाई उडानको व्यवस्था गरिने पनि उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यकाभित्रको बढ्दो संक्रमण जोखिम र त्योपनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखम भएको हुनाले केही कदमहरु चाल्न सुरु गरिएको उहाँले बताउनुभयो ।

जनजीवनमा अप्ठेरो परेपनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि मन्त्री खतिवडाले आग्रह गर्नुभयो ।

‘क्वारेन्टिन’हरु खाली हुँदै जाने र ‘आइसोलेसन’का बेडहरु बढ्दै जाने स्थिति भएकाले सोहीअनुसारको व्यवस्था गर्नुपर्ने आवश्यकताअनुसार काम भइरहेको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close